काठमाण्डौ । राप्रपाका पूर्वअध्यक्ष कमल थापाले राप्रपा पार्टी परित्याग गर्ने घोषणा गरेका छन् । हेटौडामा मंगलबार पत्रकार सम्मेलन गरेर थापाले पार्टी परित्याग गर्ने घोषणा गरेका हुन् । पार्टीमाथि पटक–पटक निर्मल निवासको हस्तक्षप भएको दाबी गर्दै त्यो राम्रो नभएको उनले बताए । नयाँ पार्टी खोल्नेबारे के विचार छ भन्ने पत्रकारको प्रश्नमा थापाले यसबारे सबैसँग सल्लाह गरेर मात्र अगाडि बढ्ने जवाफ दिए ।
पत्रकार सम्मेलनमा थापाले भने,‘अत्यन्त भारी मन तथा पी डा बो धका साथ मैले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग हुने निर्णय लिएको छु । पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर मेरो बाँकी क्रियाशील राजनीतिक जीवन पार्टीभित्रै बिताउने र पार्टीमै रमाउने उत्कट चाहना भएतापनि आफ्नो कुराको सुनुवाइ नहुने भएपछि मैले यो अप्रिय निर्णय लिन बाध्य भएको हुँ ।’
थापाले पार्टीको चुनावको क्रममा निर्मल निवासबाट भएको हस्तक्षेपबारे छानबिन हुनुपर्ने माग राख्दै आएका थिए । तर, सो मागका सन्दर्भमा अध्यक्ष राजेन्द्र लिङ्देनले सुनुवाइ नगरेपछि पार्टीबाटै अलग हुने निर्णय लिएका हुन् । उनले राप्रपाका कसैसँग पनि आफ्नो वैरभाव नरहेको भन्दै सबैको भलो होस् भन्ने कामना पनि गरेका छन् । थापाले सोमबार राजधानीमा आफूपक्षीय नेताको भेला राखेर आफ्नो माग सम्बोधन गर्न पार्टी नेतृत्वलाई आग्रह गरेका थिए ।
उनले माग सम्बोधन नहुने हो भने आफूले विकल्प खोज्ने पनि बताएका थिए । निर्मल निवासले पार्टीलाई नितान्त राजसंस्था पुनःस्थापना गर्ने भजन मण्डली बनाउने प्रयास गरेको आरोप लगाएका थापाले निर्मल निवासले पार्टीको निर्वाचनमा गरेको हस्तक्षेपको उद्देश्य यही भएको जिकिर गर्दै आएका छन् । निर्मल निवासले आफूलाई हराएर राजेन्द्र लिङ्देनलाई जिताउने काम मात्रै गरेको नभइ धेरै प्रश्नहरु पनि जन्मिएको उनले बताउँदै आएका छन् ।
‘हामीले परिकल्पना गरेको राजसंस्थाले अरु पार्टीलाई हस्तक्षेप गर्दैन । तर निर्मल निवासको हस्तक्षेपको प्रयोजन के हो ? केन्द्रीय नेतृत्वले सही ढंगले विश्लेषण गर्न सकेन भने त्यो दुर्भात्यपूर्ण हुन्छ’,थापाले सोमबारको भेलामा भनेका थिए, ‘राजसंस्था मान्ने पार्टीलाई त यो हिसाबले हस्तक्षेप हुन्छ भने राजसंस्था पुनःस्थापित भएको खण्डमा अन्य दललाई कस्तो हस्तक्षेप होला ?’
गएको मङ्सिरमा भएको एकता महाधिवेशनमा अध्यक्ष पदमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि कमल थापा पार्टी नेतृत्वप्रति असन्तुष्ट बन्दै आएका थिए । यस्तो लेखिएको छ विज्ञप्तिमा






