काठमाण्डौ । अन्ततः सरकारले स्थानीय चुनावको मिति घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले २०७९ वैशाख ३० गते एकै चरणमा स्थानीय चुनाव गर्नेगरी मिति घोषणा गरेको हो । चुनावको मिति घोष्णा गर्नुअघि सरकारले निर्वाचन आयोगसँग परामर्श गरेको थियो ।
सरकारले बैशाख ३० गते चुनाव गर्न सकिन्छ कि सकिदैन भनेर आयोगसँग गरेको परामर्शमा आयोगले सकिने जवाफ दिएपछि सरकारले बैशाख ३० को मिति घोषणा गरेको हो । निर्वाचन आयोगकै सुझावअनुसार सरकारले मिति घोषणा गरेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए ।
जेठ ५ गते स्थानीय तहका जनप्रतिनिधिको म्याद सकिने भएपछि त्यसअघि नै नयाँ जनप्रतिनिधिले पदबहाल गर्नेगरी बैशाख ३० मा चुनाव गर्दा सहज हुने आयोग पदाधिकारीको भनाई छ । यसैबीच सरकारले स्थानीय चुनावको मिति नतोकेको भन्दै आन्दोलनको तयारीमा रहेको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सरकारले वैशाख ३० मा स्थानीय निर्वाचनको मिति घोषणा गर्नु स्वागतयोग्य भएको टिप्पणी गरेको छ ।
‘सरकारले गरेको निर्णयलाई निर्वाचन आयोगले ‘पिकअप’ गर्ला, हामी निर्वाचनकै पक्षमा भएकाले हामीलाई कुनै आपत्ति हुने कुरा भएन, यसलाई स्वागतयोग्य नै मान्नुपर्छ’एमाले उपपमहासचिव विष्णु रिमालको भनाइ छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको बैठकपछि पत्रकारसँग कुरा गर्दै सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यसबारे जानकारी दिएका छन् ।
उनले निर्वाचन आयोगको सिफारिस अनुसार नै वैशाख ३० गते एकै चरणमा निर्वाचनमा जाने निर्णय सरकारले लिएको बताएका छन् । मन्त्रिपरिषद् बैठकले आगामी वैशाख ३० गते एकै चरणमा स्थानीय तह निर्वाचन गर्ने निर्णय गरेको छु, उनले भने, ‘निर्वाचन आयोगले यसअघि जेठ ४ गतेको मिति दिएको थियो । तर आयोगसँग फेरि परामर्श गरेर यो मिति तय गरिएको हो ।
मन्त्री कार्कीले वैशाख ३० गते निर्वाचन गर्दा कानुनले कुनै अवरोध नगर्ने पनि जानकारी गराएका छन् । जेठ ४ गतेभित्र निर्वाचन गर्दा कुनै कानुनी अवरोध नहुने आयोगले नै भनिसकेको छु, उनले भने, ‘त्यसैले अब कानुन संशोधनको बाटोमा जानुपर्दैन । वैशाख ३० वा जेठ ४ गते निर्वाचन गर्दा कानुनमा खासै परिवर्तन गर्नुनपर्ने भएकाले यो निर्णय लिएका हौँ ।’






