रुपन्देही । नेकपा एमालेका उपमहासचिव तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताबारे सार्वभौम ससंदमा छलफल हुनुपर्ने बताएका छन् । उनले एमसीसी सम्झौताबारे जनतालाई यथार्थ जानकारी दिन पनि संसदमा पेस गरेर छलफल हुनुपर्ने बताएका हुन् ।
उपमहासचिव ज्ञवालीले एमसीसीको विषयलाई सभामुखले संसदमा आउने ढोका बन्द गर्न नहुने भन्दै यसलाई अनुमोदन गर्ने वा नगर्ने भन्ने विषय सार्वभौम संसदमा छलफल हुनुपर्ने बताउनुभयो । उहाँले सदनमा एमसीसीले प्रवेश पाएपछि मात्र एमालेले आफ्नो धारणा सार्वजनिक गर्ने स्पष्ट पारे ।
नेता ज्ञवालीले एमसीसी सम्झौताका विषयमा सरकार र सत्ता गठबन्धनका केही नेताले गिजोल्ने काम गरिरहेको उल्लेख गर्दै पाँच महिनासम्म समय मागेर अहिले अन्योल सिर्जना गर्नु अन्तर्राष्ट्रिय जगतमा नेपालको विश्वसनीयतासमेत सङ्कटमा पार्ने काम भएको बताए ।
उनले भने, ‘अमेरिकातर्फ फर्केर एउटा कुरा र नेपालतर्फ फर्केर अर्को कुरा गर्ने दोहोरो चरित्र देखियो ।’ उनले एमसीसी सम्झौता गर्दा तत्कालीन अवस्थामा पनि वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाकै नेतृत्वमा कांग्रेस–माओबादी संयुक्त सरकार रहेको भन्दै अहिले एमसीसीलाई टुङ्गोमा पुर्याउने काम यो गठबन्धनको जिम्मेवारी भएको बताए ।
नेता ज्ञवालीले स्थानीय तह लोकतन्त्रको आधारभूत स्तम्भ भएकाले कुनै बहानाबाजी र अलमल नगरि चाँडै स्थानीय तहको चुनावको मिति घोषणा गरिनुपर्ने बताउनुभयो । उनले स्थानीय तहको चुनाव समयमा नभए लोकतन्त्र धरापमा पर्ने बताए । उनले भने, ‘एमालेलाई चुनाव टार्ने कुनै पनि बहानाबाजी मान्य छैन ।’ यो समाचार उज्यालोमा छ ।






