काठमाण्डौ । नेपालमा पछिल्ला दुई सातादेखि दैनिक मृत्यु हुनेको संख्या १० देखि १५ जनासम्म छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तेस्रो लहर सुरु भएदेखि कोरोनाबाट मृत्यु हुनेको संख्या एक सय ९० जना पुगिसकेको छ । आइतबार कोरोनाबाट मृत्यु हुनेको संख्या ११ छ, भने शनिबार मृत्यु हुने संख्या ९ थियो ।
कोरोनाका अन्य भेरियन्टको तुलनामा ओमिक्रोनलाई कम घातक भनिएका बेला नेपालमा भने ओमिक्रोन संक्रमण बढेसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढेको छ । सरकारले दीर्घरोगी, वृद्धवृद्धा र कोरोनाको खोप नलगाएको मृत्यु भएको भने पनि पछिल्लो तीन सातादेखि मृत्यु हुनेको संख्या बढेको तथ्यांकले देखाएको छ ।
यसले सर्वसाधारणमा त्रास पैदा गराएको छ । संसारभरका विज्ञहरूले डेल्टा र अन्य भेरियन्टको तुलनामा छिटो संक्रमण गर्ने भए पनि ओमिक्रोनले मृत्यु निम्ताउँदैन भनिरहेका छन् । नेपालमा मात्र होइन ओमिक्रोन फैलिएका अन्य देशमा पनि कोरोनाका बिरामीको मृत्यु संख्या भने घटन सकेको छैन ।
नेपालमा पछिल्ला दुई सातादेखि दैनिक मृत्यु हुनेको संख्या १० देखि १५ जनासम्म छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तेस्रो लहर सुरु भएदेखि कोरोनाबाट मृत्यु हुनेको संख्या एक सय ९० जना पुगिसकेको छ । आइतबार कोरोनाबाट मृत्यु हुनेको संख्या ११ छ, भने शनिबार मृत्यु हुने संख्या ९ थियो ।
यस्तै शुक्रबार ११ जनाको मृत्यु भएकामा बिहीबार यो संख्या १४ पुगेको थियो । चिकित्सकहरू भने कोरोना संक्रमण व्यक्तिको मृत्यु हुनुमा ओमिक्रोन भेरियन्ट मुख्य कारण नभएको दाबी गर्छन् । ओमिक्रोन संक्रमित व्यक्तिहरूमध्ये दीर्घ रोगी भएकाको मात्रै मृत्यु भएको चिकित्सकको दाबी छ ।
टिचिङ अस्पताल महाराजगञ्जका वरिष्ठ श्वासप्रश्वास तथा छातिरोग विशेष डा. सन्तकुमार दासका अनुसार केही सातादेखि टिचिङ अस्पतालमा भर्ना भइ मृत्यु हुनेमा धेरै जसो दम, क्यान्सर, मुटुरोग, कलेजोका बिरामी छन् । उनीहरू अन्य रोग लागेर उपचारमा आउने गरेको र त्यसक्रममा परीक्षण गर्दा कोरोना पनि देखिएको हो ।
पहिला नै मृत्युको जोखिममा रहेको व्यक्तिको मृत्यु हुँदा कोरोना पनि जोडिएको डा.दासको भनाइ छ । ‘मृत्युको कारण आफ्नै पुराना जोखिम रोग हुन्, मृत्यु हुँदा कोरोनाको ट्याग पनि लाग्ने गरेको छ,’ उनले भने । डा. दासका अनुसार चिसो मौसममा देशभरिमा दैनिक यति मृत्यु हुने संख्या नेपालमा कोरोना आउनु अघि पनि थियो ।
अहिले कोरोना महामारी पछि ओमिक्रोनसँग मृत्युको कारण जोडिन पुगेको उनले बताए । शुक्रराज सरुवा रोग अस्पतालका अनुसन्धान शाखाका संयोजक डा. शेरबहादुर पुनले पनि ओमिक्रोनले स्वस्थ व्यक्तिलाई मृत्यु हुने अवस्थासम्म नपुराएको बताए ।
उनका अनुसार अस्पतालमा भर्ना हुन आएका बिरामी र मृत्यु भएकामा धेरै जसो ६० वर्ष माथिका र कुनै न कुनै रोगले पहिल्यै ग्रस्त भएका व्यक्ति छन् । भर्ना भएका व्यक्तिको मृत्युको कारक ओमिक्रोन संक्रमणको मुख्य भूमिका नदेखिएको डा. पुनले बताए ।
संक्रमणदर १५ प्रतिशत
गत २४ घन्टामा औसत संक्रमणदर १५ प्रतिशतमा झरेको छ । २४ घन्टामा परीक्षण गरिएका ९ हजार २ सय ५१ नमुनामध्ये १ हजार ३ सय ८६ जनामा संक्रमण पुष्टि भएको हो । यो तेस्रो लहरको संक्रमण उच्च बिन्दुमा पुगेपछि सबैभन्दा कम हो ।
पछिल्ला केही दिनमा संक्रमण दर ओरालो लागेको छ । शनिबार संक्रमण दर २० प्रतिशत थियो । आइतबार कोरोनाबाट निको हुनेको संख्या ८ हजार ७ सय ४ छ । नयाँ संक्रमितसहित नेपालमा सक्रिय संक्रमितको संख्या ४५ हजार २ सय ४८ पुगेको छ ।
तीमध्येमा ४३ हजार १ सय ३२ जना होम आइसोलेसनमा र १ हजार ३ सय १६ जनाको संस्थागत आइसोलेसनमा उपचार भइरहेको छ । तीमध्येमा गम्भीर समस्या भएका २ सय ९६ जनाको आइसियूमा र ४६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।






