काठमाण्डौ । अबदेखि यदि कसैले बैंकमा ७ लाख माथिको कारोवार गर्दैछ भने उस्लाई राष्ट्र बैंकले निगरानीमा राख्ने भएको छ । अवैध डलरको कारोवार बढेको भन्दै राष्ट्र बैंकले अब ठूलो रकमको कारोवार गर्नेलाई निगरानीमा राखेको हो । बैंकमा ठूलो कारोबार गर्नेहरुलाई नेपाल राष्ट्र बैंकले निगरानीमा राख्ने भएको छ ।
क्रिप्टोकरेन्सी, डिजिटल क्यासिनो, डिजिटल नेटवर्किङलगायतका ‘अवैध’ कार्य गर्नेहरु धमाधम पक्राउ पर्न थालेपछि राष्ट्र बैंकले निगरानी बढाएको हो । कारोबारको स्रोत पहिचानका लागि नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको ६ महिने कारोबारको सुपरिवेक्षण गर्न लागेको हो ।
७ लाख भन्दा माथिको बैंक कारोवार गर्नेले त्यसको स्रोत खुलाउनु पर्नेछ । यसका लागि वाणिज्य बैंकहरुलाई केन्द्रीय बैंकले बुधबार पत्रमार्फत जानकारी मागिसकेको छ । नेपाल राष्ट्र बैंकले एक पटकमा ७ लाखभन्दा बढी कारोबार हुनेहरुको सम्पत्ति स्रोतबारे २७ वटै बैंकहरुलाई जानकारी दिन भनेको छ ।
खासगरी सम्पत्ति शुद्धीकरण तथा आ तं कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणको लागि यो अध्ययन गर्नुपरेको उसको भनाइ छ । राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले यसअघि पनि स्थलगत तथा गैरस्थलगत सुपरिवेक्षण गर्दै आएको छ ।
बुधबार बैंकहरुलाई पठाएको पत्रमा भनिएको छ, ‘बैंकबाट साउन १ देखि पुस ३० गतेसम्म भएको कारोबार उपलब्ध गराउनुहुन अनुरोध छ ।’ तथ्याङ्क उपलब्ध गराउँदा ७ लाख वा सोभन्दा बढी नगदमा भएका कारोबारको विवरण माग गरिएको छ। त्यसको लागि केन्द्रीय बैंकले ढाँचा नै पठाएको छ ।
ढाँचामा बैंकको खातावालाको नाम, खाता नम्बर, प्रयोग भएको डेबिट÷क्रेडिट कार्ड, कारोबार भएको रकम, कारोबार भएको मिति, कारोबार गर्ने÷गराउनेको विवरण र उल्लेख भएको कैफियत पठाउन भनिएको छ । केही दिनयता भर्चुअल मुद्राको कारोबार गरेको आरोपमा धमाधम व्यक्तिहरु पक्राउ परिरहेका छन् ।






