काठमाण्डौ । सत्तारूढ गठबन्धनले निर्वाचनमा जाने सहमति गरेसँगै पूँजीबजारमा आइतवार उत्साह देखिएको छ । गत साता १५१ दशमलव ३६ अंकले घटेको बजार यो साता पहिलो कारोबार दिनमै १०५ दशमलव ५५ अंकले बढ्यो । यस दिन नेप्से परिसूचक २ हजार ८८५ दशमलव ५३ विन्दुमा पुगेर बन्द भएको छ ।
आगामी जेठभित्रै स्थानीय तहको निर्वाचन गर्ने सत्तारूढ दल सहमत भएको सूचना आएसँगै लगानीकर्ताहरू उत्साहित भएका हुन् । शेयर लगानीकर्ता संघ नेपालका उपाध्यक्ष ताराप्रसाद फुल्लेलले आगामी स्थानीय निर्वाचनले दिगो सरकारको गठन हुनेमा लगानीकर्ता विश्वस्त रहेको बताए ।
यसअघिका वर्षहरूमा पनि निर्वाचनको समयमा बजारले राम्रै गति लिएकाले यस वर्ष पनि सोही गतिलाई पच्छ्याउने विश्वास फुल्लेलको छ । बजार निरन्तर घट्दा सस्तोमा शेयर उठाउन सक्रिय हुने लगानीकर्ताको स्वभावले पनि आइतवारको बजार सकारात्मक बनेको फुल्लेलको बुझाइ छ ।
आगामी चुनावले बैंक तथा वित्तीय संस्थाहरूमा तरलता भित्रिने विश्वास लगानीकर्तामा देखिएको फुल्लेलले बताए । आइतबार अघिल्लो कारोबार दिन बिहीवारको तुलनामा कारोबार रकम पनि बढेको छ । गत बिहीबार रू ३ अर्ब ३४ करोड ३४ लाखभन्दा बढीको शेयर कारोबार भएको थियो ।
आईतबार भने रू। ६ अर्ब ३२ करोड ४२ लाख बराबरको शेयर खरीद विक्री भएको छ । कुल कारोबार रकममा अपि पावरको सर्वाधिक अंश रहेको छ । अपि पावरको यस दिन रू २६ करोड १५ लाख १६ हजार बराबरको शेयर खरीद विक्री भयो । बजार उच्च अंकले बढ्दा लगानीकर्ताको सम्पत्तिको मूल्य पनि एकै दिन रु १ खर्ब ४९ अर्ब १६ करोडले बढेको छ ।
गत बिहीवार रू ३९ खर्ब २८ अर्ब ६३ करोड ४२ लाख रहेको कुल बजार पूँजीकरण आइतवार रु ४० खर्ब ७७ अर्ब ७९ करोड ४६ लाख पुगेको छ । आइतबार सबै समूहगत परिसूचकहरू बढेका छन् । यस दिन विकास बैंक र लगानी समूहका लगानीकर्ताले सर्वाधिक कमाएका हुन् ।
विकास बैंकको समूहगत परिसूचक यो दिन सर्वाधिक ६ दशमलव ५६ प्रतिशत र लगानी समूहको परिसूचक सर्वाधिक दोस्रोमा ६ दशमलव ३५ प्रतिशत बढेको छ । यो समाचार आर्थिक अभियानदैनिकमा छ ।






