काठमाण्डौ । निर्वाचन आयोगको प्रस्ताव अनुसार नै गठबन्धन दलहरु स्थानिय तहको निर्वाचन समयमै गर्ने निर्णयमा पुगेका छन् । निर्वाचन आयोगले बैशाखमा स्थानिय तहको निर्वाचन गर्न प्रस्ताव गरेको छ । नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय सत्ता गठबन्धनले आगामी २०७९ जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गरिसक्ने गरि प्रक्रिया अघि बढाउने निर्णयमा पुगेका हुन् ।
शनिवार पटक पटक गरिएको गठबन्धनको बैठक पछि यस्तो निष्कर्षमा दलहरु पुगेका हुन् । आगामी जेठभित्रै स्थानीय तह निर्वाचन गर्ने गरी संविधानसँग बाझिएका कानुन संशोधन गर्न पनि गठबन्धनले सुझाव दिने निर्णय गरेको छ। शनिबार दोस्रो पटक बसेको सत्ता संयन्त्र र कानुनविदसहितको बैठकपछि सञ्चारकर्मीसँग बालुवाटारमा कुरा गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले यसबारे जानकारी दिएका हुन् ।
नेकपा एमालेले पनि स्थानिय तहको निर्वाचन गर्न सरकारलाई दवाव दिएको थियो । गठबन्धन दलका नेपाली कांग्रेस वाहेक अन्य दलहरु एकै पटक निर्वाचन गराउनुपर्ने पक्षमा थिए । तर आगामी जेठ महिनाभित्र स्थानीय चुनाव सम्पन्न गर्ने गरी आवश्यक तयारी थाल्न सरकारलाई सुझाव दिने निर्णय बैठकले गरेको प्रवक्ता कार्कीले बताए । उनका अनुसार त्यसका लागि आवश्यक संविधान र कानुन संशोधनसहितका प्रक्रिया पनि अघि बढाउन सरकारलाई संयन्त्रले पनि सुझाव दिनेछ ।
निर्वाचन मिति तोक्नका लागि सरकार र गठबन्धनले निर्वाचन आयोगसँग आवश्यक परामर्श गर्ने पनि कार्कीले जानकारी दिएका छन्। निर्वाचन मिति तोक्न सरकारलाई निर्वाचन आयोगसँग छलफल गरी थाल्न गठबन्धन बैठकले सुझाव दिएको । आगामी वैशाख९जेठभित्र स्थानीय निर्वाचन गर्न सत्ता गठबन्धनमाथि दबाब बढिरहेको थियो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि प्रधानमन्त्री देउवालाई स्थानिय तहको निर्वाचनको मिति तोक्न भन्दै आएका थिए ।
उनले सुरुमा स्थानिय तहको निर्वाचन गर्नुपर्ने भन्दै आएका थिए । निर्वाचन आयोगले मिति घोषणाका लागि तीन पटकसम्म सरकारलाई ताकेता गरेको थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले पनि बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवालाई सात बुँदे पत्र पठाएर निर्वाचन सार्ने नाममा गरी संविधान र कानुन संशोधन निराशाजनक हुने बताएकी थिइन् ।
शनिबार बिहान बसेको गठबन्धन बैठकमा प्रधानमन्त्री देउवाले स्थानीय तह निर्वाचन मिति नसारी वैशाख९जेठमै गर्ने जनाउ गठबन्धनका नेताहरुलाई दिएका थिए । सत्ता गठबन्धनका नेताहरु पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले स्थानीय निर्वाचन आगामी असोज या मंसिरमा गर्न सकिने बताउँदै आएका थिए । उनीहरुले तीनै तहको निर्वाचन एकैसाथ गर्नुपर्ने प्रस्ताव पनि गठबन्धन बैठकमा गरेका थिए ।






