काठमाण्डागै । वि.स. १९८८ साल यता पहिलोपटक नेपालको जनसङ्ख्या वृद्धिदर वार्षिक एक प्रतिशत भन्दा कम भएको छ । त्यस वर्ष देशको जनसङ्ख्या वृद्धिदर ०।०७ प्रतिशतले ऋणात्मक स्थितिमा थियो । त्यसपछिका प्रत्येक जनगणनामा नेपालको जनसङ्ख्या वार्षिक एक प्रतिशत भन्दा माथि नै थियो ।
१९९८, २०१८ र २०६८ सालमा मात्रै एक प्रतिशत हाराहारीले जनसङ्ख्या बढेको थियो । त्यस बाहेकका अन्य जनगणनामा जनसङ्ख्या वृद्धिदर दुई प्रतिशत भन्दा बढीले उकालो लाग्ने गरेको थियो । त्रिभुवन विश्वविद्यालयका अर्थशास्त्र विभागका प्राध्यापक डा. रमेश पौडेल देशको अर्थतन्त्र कमजोर हुँदा जनसङ्ख्या वृद्धिदर घटेको बताउँछन् ।
देशले श्रम गर्न योग्य युवालाई रोजगारीको दिन नसकेको र ती विदेशिन बाध्य बनेकाले जनसङ्ख्या वृद्धिदर घटेको उनको भनाई छ । योपनि गएको मंसिर महिनामा भन्दा पुस महिनामा वैदेशिक रोजगारीमा जाने घटेका छन् । मंसिर महिनामा वैदेशिक रोजगारीमा जान ७४ हजार ३५४ श्रम स्वीकृति लिएकोमा यो सङ्ख्या घटेर पुस महिनामा ६६ हजारमा झरेको छ ।
वैदेशिक रोजगार विभागका अनुसार विभिन्न म्यानपावर एजेन्सीमार्फत, व्यक्तिगत रूपमा, वैधानिकिकरण र पुन श्रम स्वीकृति गरी पुस महिनामा श्रम लिनेको सङ्ख्या ६६ हजार ६ सय २५ रहेको छ । श्रम लिनेमा ६२ हजार २७३ जना पुरुष र ४ हजार ३ सय ५२ जना महिला रहेका छन् । सबैभन्दा धेरै अदक्ष श्रमिकले श्रम स्वीकृति लिएका छन् ।
श्रम स्वीकृति लिनेमा ३४ हजार जना अदक्ष श्रमिक रहेका छन् भने २५ हजार ५९१ जना दक्ष श्रमिक रहेका छन् । यस्तै अर्धदक्ष ६ हजार ९०९ जनाले, उच्च सीप भएका १६ जनाले र व्यवसायीक श्रम स्वीकृति १०९ जनाले लिएका छन् । मंसिर महिनामा पुनः श्रम स्वीकृति समेत गरी ७४ हजार ३५४ जनाले वैदेशिक
रोजगारीमा जानको लागि अन्तिम श्रम स्वीकृति लिएका थिए । यीमध्ये ३४ हजार ४९७ ले पहिलो पटक श्रम स्वीकृति लिएका र बाँकीले दोस्रो पटक श्रम लिएको विभागले जनाएको छ ।






