काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा आज (शनिबार) सर्वदलीय बैठक बोलाईएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार बिहान साढे ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक बोलाएका हुन् । यसअघि बोलाइएका सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने अनुपस्थित रहँदै आएको थियो ।
बैठकमा संसद्को गतिरोध अन्त्य, पालिका तह चुनाव लगायतका विषयमा छलफल हुने बुझिएको छ । यसअघि पुस ४ गतेको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहभागी भएको थिएन । त्यसपछि प्रधानमन्त्री देउवाले पुस २४ गते एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ओलीकै निवास बालकोट पुगेर भेटेका थिए ।
शुक्रबार उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकपछि स्थानीय तहको निर्वाचनबारे छलफल गर्न सर्वदलीय बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सर्वदलीय बैठक बोलाउनुअघि काँग्रेस सभापति समेत रहेका देउवाले शुक्रबार साँझ पार्टीका नेताहरुसँग पनि छलफल गरेका थिए ।
यता सत्ता गठबन्धनले स्थानीय तह निर्वाचनबारे कानुन विज्ञसँग पनि छलफल गर्ने भएको छ । स्थानीय तह निर्वाचनबारे कानुनी अस्पष्टता देखिएको भन्दै संविधान र कानुनका विज्ञहरुसँग छलफल गर्ने निर्णय भएको सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिए । उनले भने,‘निर्वाचनबारे विभिन्न प्रस्तावमाथि छलफल भएको छ । यस विषयमा गठबन्धनको तर्फबाट कानुनविदहरुसँग परामर्श गर्ने निर्णय भएको छ।’
संवैधानिक व्यवस्था अनुसार निर्वाचन सम्पन्न गरिने उनको भनाइ छ । एमालेले आफूले कारबाही सिफारिस गरेका १४ सांसदलाई सभामुख अग्निप्रसाद सापकोटाले कार्यान्वयन नगराएको भन्दै संसद् अवरुद्ध गर्दै आएको छ ।






