सोलुखुम्बु । महंगो फलफुल मध्यको एक हो किवी पनि । सोलुखुम्बुमा अघिल्लो वर्षको तुलनामा यस वर्ष किवी उत्पादन ३ मेट्रिक टन वृद्धि भएको छ । यो वृद्धिसंगै किवी खेती गरेका किसानमा खुशीयाली छाएको छ । गएको वर्ष ६५ मेट्रिक टन किवी उत्पादन भएको जिल्लामा यस वर्ष बढेर ६८ मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्र सोलुखुम्बुले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी कुलबहादुर राईका अनुसार गएको वर्षको तुलनामा उत्पादन दिने बोटको संख्या बढेसँगै उत्पादनमा पनि वृद्धि भएको हो । अधिकारी राईले भने,‘जिल्लामा पछिल्लो समय किवी खेती गर्ने किसानहरु बढ्दै छन्, तर रोपेको २, ३ वर्षपछि मात्रै उत्पादन दिन्छ ।

केही वर्ष भित्रमा ती सबै बोटले फल दिन थालेपछि उत्पादनमा भारी वृद्धि हुने निश्चित छ ।’सोलुखुम्बुमा हाल एक सय १५ हेक्टर क्षेत्रफलमा किवी खेती गरिँदै आएको छ । जसमध्ये हाल ११ हेक्टर क्षेत्रफलमा लगाइएको किवीले उत्पादन दिन थालेको ज्ञान केन्द्रको तथ्यांक छ ।
जिल्लाको नेचाबेत्तघारी, नेचाबतासे, सल्यान, तिङला, गार्मा, साल्मे, सल्लेरी, तामाखानी, बेनी, फाप्लु, टाक्सिन्दु, नेले, काँगेल, मुक्ली, जुबु, देउसा, काँकु, बासा, खरिखोला, बुङ, छेस्काम, गुदेल, सोताङ, चौलाखर्क लगातका क्षेत्रमा किवी खेती हुने गरेको छ ।






