काठमाण्डौ । नेपाली काँग्रेसका नेता शेखर कोइरालाले विधि र विधान विपरित हिँडेमा पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध संघर्ष गर्ने चेतावनी दिएका छन् । उनले सभापति देउवा विधि र विधान विपरित अघि बढेमा संघर्ष गर्नका लागि कार्यकर्तालाई तयारी रहन निर्देशन समेत दिए ।
‘पार्टी सभापति शेरबहादुर देउवा विधि र विधान अनुसार अघि बढेमा सहकार्य हुनेछ, त्यसो नभएको खण्डमा संघर्ष हुनेछ ।’ सोमबार मोरङ सुन्दरहरैँचाको दुलारीमा आयोजित कार्यक्रममा नेता कोइरालाले भने । उनले १३ औं महाधिवेशनमा नेता देउवाले सभापति जितेर पार्टी चलाए जस्तो अब कुनै पनि हालतमा नहुने जिकिर गरे ।
‘१४ औं महाधिवेशनले सबैको स्थान देखाएको छ। हामीले रुपान्तरणसहितको पुस्तान्तरण खोजेका थियौं,’ उनले भने, ‘अब पुरानो पाराले पार्टी चल्दैन, रुपान्तरण हुनैपर्छ ।’ नेता कोइरालाले सभापति देउवाले विधि र विधान नमाने महाधिवेशन प्रतिनिधिसमक्ष पुगेर संघर्ष चर्काउन दबाब सृजना गर्ने बताए ।
उनले आगामी तीन तहकै निर्वाचनमा नेपाली काँग्रेस एक्लै चुनावी प्रतिस्पर्धा गर्ने पनि दावी गरे । ‘अहिले काँग्रेसका बीचमा गठबन्धन बनाएर चुनाव लड्ने भन्ने एकथरीको विचार भएपनि काँग्रेस एक्लै चुनावमा जानेछ,’ उनले भने, ‘काँग्रेस एक्लै चुनावमा प्रतिस्पर्धा गर्न सभापति देउवासमक्ष दबाब सृजना गर्न आवश्यक छ ।’
काँग्रेस एक ढिक्का भएर चुनावमा गए सहजै चुनाव जित्ने जिकिर गरे । ‘काँग्रेस एक ढिक्का भए सबै कम्यूनिष्ट मिलेपनि चुनाव जित्छ,’ उनले दावी गरे । नेता कोइरालाले अहिले शक्ति पृथकीकरणका तीनवटा पिलर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका अस्तव्यस्त भएकाले गर्दा देश गम्भीर संकटमा रहेको बताए ।
‘अहिले देश चलेको छैन, यत्रो कोरोना महामारी हुँदा पनि कार्यपालिका अलमलमा छ, अहिलेको सरकार बनेदेखि व्यवस्थापिका संसद अवरुद्ध छ भने न्याय दिने न्यायपालिका अस्तव्यस्त छ,’ उनले भने । उनले देशमा भयानक ढंगले दण्डहिनता मौलाएको र भ्रष्टाचारले देश गिजोलिएको बताए ।
‘ललिता निवासमा भएको भ्रष्टाचार प्रकरणमा सिआईबीले तीन वर्ष लगाएर गरेको अनुसन्धान सरकारको वकिलले तीन घण्टामा फिर्ता गर भन्छन् ।’ उनले भने, ‘जसले गर्दा देशमा दण्डहिनता मौलाएको छ । सुशासन छैन, जवाफदेहीता, पारदर्शिता र उत्तरदायित्व छैन ।’
व्यवस्थापिका संसद सुचारु नहुँदा ऐन र कानुन पास हुन नसकेको एवम् न्यायपालिकामा प्रधानन्यायाधीससँग न्यायाधीशको बोलचाल समेत नहुँँदा देश गम्भीर संकटमा रहेको उनले बताए । ‘देश गम्भीर संकटमा रहँदा ठूलो पार्टी काँग्रेसको भूमिका प्रभावकारी भएन,’ उनले भने । यो समाचार नागरिक दैनिकमा छ ।






