काठमाण्डौ । कोभिडको नयाँ भेरियन्ट सहितको महामारी बढेसंगै अहिले सबै विद्यालय बन्द छन् । सार्वजनिक स्थलहरु पनि बन्द गरिएका छन् । सिनेमा हल, रेष्टुरेन्टहरुमा पनि कडाइ गरिएको छ । यस्तो अवस्थामा त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले लिने गरेका परीक्षा के हुन्छ भन्ने कुरामा सबैको चासो छ ।
कोभिड संक्रमणको तेस्रो लहरको जोखिम बढेसँगै सरकारले विद्यालय बन्द गरिसकेको छ । सिनेमा हल, जिमखाना, पार्टी, भोज, जमघट हुने सबै क्षेत्रमा स्वास्थ्य सुरक्षाको मापदण्डमा कडाइ गरेको छ । त्रिविमा हाल जाडो बिदाले विश्वविद्यालय बन्द भए भएका छन् । तर त्रिभुवन विश्वविद्यालयले सञ्चालन गरेका परिक्षा भने नरोकिने भएको छ ।
कोभिडको नयाँ भेरियन्ट ओमिक्रनको संक्रमित बढ्दै गएपछि त्रिविले सञ्चालन गर्ने परीक्षा के होला भन्ने विद्यार्थी र अभिभावकमा चासो छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सम्पूर्ण विभाग तथा क्याम्पसको पढाइ माघ १० गतेसम्म बन्द हुने भएका छन् । कोरोना सङ्क्रमणलाई नियन्त्रण गर्न यस्तो निर्णय गरिएको त्रिविले जनाएको छ ।
अन्य विश्वविद्यालयले पनि भौतिक उपस्थितिमा पढाइ बन्द गर्नेबारेमा छलफल गरिरहेका छन् । त्रिविको निर्णयसँगै मुलुकभरका अधिकांश शैक्षिक संस्थामा भौतिक उपस्थितिमा पढाइ बन्द भएको छ । त्रिविले उच्च शिक्षाको ७५ प्रतिशत भार ओगटेको छ । विद्यालय तहको पढाइ माघ १५ सम्मका लागि बन्द गर्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यसअघि नै निर्णय गरिसकेको छ ।

सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाउने यसअघि नै सरकारले निर्णय गरेको छ । कोरोना सङ्क्रमितको सङ्ख्या पनि दैनिक बढिरहेको छ । त्रिविमा पढाइ बन्द हुने भए पनि यसअघि नै तय गरिएका र हाल सञ्चालनमा रहेका परीक्षालाई स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्ने निर्णय त्रिवि कार्यकारी परिषद्ले गरेको छ ।
त्रिविले अहिले स्नातक तह चौथो वर्षको परीक्षा सञ्चालन गरिरहेको छ । तेस्रो वर्षको परीक्षा माघ अन्तिम साताबाट सञ्चालन गर्ने परीक्षा नियन्त्रण कार्यालयको तयारी छ । वार्षिक शैक्षिक कार्यतालिका प्रभावित नहोस् भनेर परीक्षालाई सुचारु गर्न लागिएको त्रिविले जनाएको छ । भौतिक उपस्थितिमा पढाइ रोकिए पनि परीक्षाको मिति नजिकिएका विषयको पठनपाठन अनलाइन माध्यमबाटै सञ्चालन गरिनेछ ।
त्रिवि सभा तथा कार्यकारी परिषद्का कार्यालय प्रमुख सूर्यप्रसाद अधिकारीले कोरोना सङ्क्रमण दर न्यून रहेका र भौतिक उपस्थितिमै पढाउन सकिने अवस्था रहेका क्याम्पसले स्थानीय तहसँग समन्वय गरेर सम्पूर्ण शैक्षिक क्रियाकलाप सञ्चालन गर्न सक्ने जानकारी दिए । उनका अनुसार प्रयोगात्मक कक्षाहरू भने कोरोना सङ्क्रमण नियन्त्रणका लागि पूर्वसावधानी अपनाउँदै भौतिक दूरी कायम गरेर सञ्चालन गर्न पाइने त्रिविले जनाएको छ ।
यसरी पढ्नुपर्ने र पढाउनुपर्ने सबै शिक्षक तथा विद्यार्थीको इमेल ठेगाना तुरुन्त बनाउन सबै क्याम्पस तथा विभागलाई कार्यकारी परिषद्ले निर्देशन दिएको छ । बिदाको समयमा कोरोना सङ्क्रमणबारे पूर्वतयारी तथा सचेतना अवलम्बन गर्न त्रिविले सम्पूर्ण शिक्षक तथा कर्मचारीलाई अनुरोध गरेको छ ।
पढाइ बन्द रहे पनि छात्राबास खुलै रहनेछन् तर सरकारी निर्णयको पूर्ण पालना गरेर मात्रै छात्राबास सञ्चालन गर्ने निर्णय पनि त्रिविले गरेको छ । बन्द रहेको समयलाई हिउँदे बिदामा मिलान गरिने छ । कोरोना सङ्क्रमण बढ्न थालेसँगै त्रिविबाट सम्बन्धन प्राप्त अधिकांश क्याम्पसले अनलाइन माध्यमबाटै पढाइ सञ्चालन गर्ने निर्णय गरिसकेका छन् । केही क्याम्पसले हिउँदे बिदा दिएका छन् ।






