काठमाण्डौ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले बतास समूहले संचालन गर्दै आएको धर्मशाला हेरेर आफू ‘सक्ड’ भएको बताएका छन् । धर्मशाला आज आईतबार बिहान निरीक्षण गर्दै उनले धर्मशाला सेभेन स्टार होटल जस्तो भएको उनले बताएका हुन् ।
उनले यसबारे छानबीन समितिले भोलि प्रतिवेदन बुझाउने र त्यसपछि आवश्यक निर्णय लिइने मन्त्री आलेले बताए । उनले भने, ‘छानबीन प्रतिवेदन आइसकेपछि दूधको दूध, पानीको पानी हुन्छ ।’ पशुपतिनाथ दर्शन गर्न आउने तीर्थयात्रीहरुलाई खान र बस्न सहज होस् भनेर तिलगंगामा धर्मशाला बनाइएको थियो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिस्थित धर्मशाला संयुक्त रुपमा उद्घाटन गरेका थिए । यसमा भारत सरकारको २५ करोड लगानी रहेको बताउँदै मन्त्री ओलेले भने, ‘तीर्थयात्रीहरु सस्तो सुलभ मूल्यमा बस्न पाउन् भन्ने उद्देश्यले बनाइएको धर्मशाला धर्मशालाको रुपमा नभएर शानदार आलिशान, छ । सेभेन स्टारको हाराहारीमा मैले पाएँ ।’

‘नेपाल भारत मैत्री धर्मशाला’मा अहिले बतास समूहले ‘होटल आनन्द’ चलाइरहेको छ, जहाँ बस्नेले खानाबाहेक एउटा कोठाको करीब ७ हजार रुपैयाँसम्म तिर्नुपर्छ । धर्मशाला भाडामा लिएर महँगो होटल चलाएको भन्दै बतास समूहको आलोचना हुँदै आएको छ ।
त्यहाँ बतास फाउन्डेसनको निजी कार्यालय, अधिवक्ताको कार्यालयदेखि बतास समूहकै ‘भिन्टेज’ गाडीको सोरुम समेत राखिएको छ । कतिपय संरचनाहरु अनुमति विना बनाइएको पनि मन्त्री आलेले बताए । उनले छानबीनको क्रममा दोषी देखिएका सबैलाई कारबाही गर्ने प्रतिबद्धता समेत जनाए ।
छानबीन समितिका संयोजक नारायण सुवेदीले भोलि अपराह्न चार बजे पशुपति क्षेत्र विकास कोषको कार्यालयमा प्रतिवेदन सार्वजनिक गर्ने जानकारी दिए । यो समाचार अनलाईन खबरमा छ ।






