काठमाण्डौ । कोभिड संक्रमित बढ्न थालेपछि अस्पतालले नै विज्ञप्ती जारी गर्दै अब सामान्य अवस्थाका विरामी अस्पताल नआउनु भन्दै आग्रह गरेको छ । चितवनको भरतपुर अस्पतालले सामान्य र पछि जाँच गराउँदा पनि हुने बिरामीलाई तत्काल अस्पताल नआउन आग्रह गरेको छ ।
अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्रा डा कृष्णप्रसाद पौडेलले शनिवार एक विज्ञप्ति प्रकाशित गरी सामान्य प्रकृतिका बिरामीलाई तत्काल अस्पताल नआउन आग्रह गरेका हुन् । बढ्दै गएको कोभिड संक्रमणले सामान्य अवस्थाका विरामीलाई थप जोखिम हुने भएकाले अस्पताल नआउनु भनिएको हो ।
अस्पतालमा कोभिड संक्रमितको चाप पनि बढ्न थालेको छ । जिल्लामा सङ्क्रमण दर अत्यधिक बढेको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ ।, ‘कोभिड–१९ को तेस्रो लहरस्वरुप विगत केही दिनदेखि नेपालमा कोभिड सङ्क्रमितको सङ्ख्या तीव्र गतिमा बढ्दै गइरहेको सबैलाई जानकारी नै छ । यस सन्दर्भमा सामान्य र पछि जाँच गराउँदा पनि हुने प्रकृतिका बिरामी अस्पताल आउने समय पछि सार्नु उपयुक्त हुन्छ ।’
काठमाडौँको त्रिवि टिचिङ र वीर अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मी पनि उच्च सङ्ख्यामा सङ्क्रमित भएको तथ्याङ्कलेसमेत अस्पतालमा एकअर्काबाट सङ्क्रमण फैलनसक्ने सम्भावना बढ्दै गएको विज्ञप्तिमा उल्लेख छ । भरतपुर अस्पतालमा पछिल्लो दुई दिनको परीक्षणमा देखिएको कोभिड पोजिटिभ दर अति उच्च रहेको उल्लेख गर्दै पुस २९ गते १७२ जनाको परीक्षणमा ९५ जना अर्थात ५५ प्रतिशतमा पोजिटिभ देखिएको जनाइएको छ ।
त्यस्तै पुस ३० गतेको १८६ जनामा गरिएको परीक्षणमा ११५ जना अर्थात ६१।२५ प्रतिशतमा पोजेटिभ देखिएको छ । भरतपुर अस्पताल केन्द्रीय अस्पताल हो । यहाँ चितवनसहित छिमेकी १९ जिल्लाबाट बिरामी उपचारका लागि आउने गर्दछन् । यसअघिका कोभिडको सङ्क्रमण उच्च हुँदा यहाँ धेरैको उपचार गरिएको थियो । कोभिड सङ्क्रमण सुरु भएपछि नियमित सङ्क्रमितको उपचार अस्पतालमा हुँदै आएको छ ।






