काठमाडौ । नेकपा एमालेका सचिव लेखराज भट्टले माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई धन्यवाद दिएका छन् । एमाले अध्यक्ष ओलीलाई चिन्ने मौका दिएको भन्दै उनले आफ्ना पूर्वअध्यक्ष दाहाललाई धन्यबाद दिएका हुन् ।
नेकपा एमाले कैलालीको ८औं जिल्ला अधिवेशन उद्घाटन सत्रमा बोल्दै सचिव भट्टले भने, ‘मैले ओलीलाई नजिकबाट चिन्ने मौका पाएको थिइनँ । उहाँमा भएको देश भक्तिलाई मैले चिन्न सकेको थिइनँ । तर प्रचण्डले ओलीलाई चिन्ने राम्रो मौका दिनु भयो । उहाँलाई धन्यबाद दिन चाहन्छ ।’
दाहालकै स्वार्थका कारण माओबादी र एमालेको पार्टी एकता हुन नसकेको उनको आरोप छ । ओलीले देशलाई संवृद्ध बनाउने योजना बनाएपछि त्यसलाई सफल हुन नदिन दाहालले पार्टीभित्रै गुट गर्दै एकता प्रक्रिया तोडेको भट्टको आरोप छ ।
‘एमाले र माओबादीलाई अदालतले अलग गरेको होइन । अदालतले नेकपा नाम परिवर्तन गर्न मात्रै भनेको हो,’ सचिव भट्टले भने, ‘तर प्रचण्डले पार्टी एकता गर्न चाहेनन्, अदालतको निर्णय पछि ओलीले पार्टीको नाम सोचौं भन्दा भन्दा प्रचण्डले त्यसलाई मजाक बनाए, एकता प्रक्रिया भाड्ने व्यक्ति प्रचण्ड नै हुन् ।’
दाहालले जनआन्दोलनका मुद्दालाई बिर्सेर पुँजीपति बाटो अँगालेपछि आफूहरू ओलीतर्फ लागेको उनले बताए । उनले ओली जति देशभक्त र विकास प्रतिको कटिबद्ध नेता नेपालमा अरू कोही नभएको बताए । ‘कांग्रेस पुँजीबादी पार्टी हो,’ उनले भने, ‘माओवादी र अन्य दल अहिले उसैको पछाडि लागेका छन्, ओली बाहेक अरूमा देश विकासको चिन्ता नै छैन ।’
अहिलेको गठबन्धन सरकार आयात मुखी अर्थतन्त्रमा रमाएर कमिसनको चक्करमा फ से को उनले बताए । ‘एमालेको नेतृत्वमा सरकार हुँदा देशमा हुने उत्पादनको निर्यात दर बढेको थियो । जसका कारण डलरको सञ्चित घटेको थियो,’ उनले भने, ‘तर अहिले निर्यात ठप्प छ, गठबन्धनका नेता तथा मन्त्री बढी
भन्दा बढी आयतबाट गरेर कसरी कमिसन खाने भन्ने चक्करमा रुमलिएका छन्, जसका कारण डलरको सञ्चित बढेको छ ।’ गठबन्धन सरकार कमिसनको चक्करमा पर्दा देशको अर्थतन्त्र गम्भीर मोडमा पुगेको उनले बताए । यो समाचार न्यूजकारखानामा छ ।






