काठमाण्डौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नारायणहिटी सङ्ग्रहालय भित्रबाट बतास समूहलाई हटाउने प्रक्रिया अगाडि बढाउने बताएका छन् । आज बिहीबार सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै मन्त्री आलेले नारायणहिटी सङ्ग्रहालयमा रेस्टुरेन्टलगायतको भौतिक संरचना निर्माण गरिरहेको बतास समूहलाई त्यहाँबाट हटाउने बताएका हुन् ।
उनले यो समूहलाई कुन प्रक्रियामार्फत हटाउने भन्ने विषयमा आफू छलफलमा रहेको बताए । मन्त्री आलेले मन्त्रीस्तरबाट वा मन्त्रिपरिषदबाटै निर्णय गरेर भए पनि हटाएरै छाड्ने बताए । उनले आज नै नारायणहिटीमा अवलोकनका लागि जाने पनि उल्लेख गरे ।
मन्त्री आलेले भने, ‘सङ्ग्रहालयमा जुन गतिविधि भएको छ, आज पावरमा भएको बेला एउटा व्यक्तिले लिजमा लिने, भोलि अर्को पावरमा भएको बेला अर्कोले लिने । पर्सि अर्को पावरमा भएको बेला अर्कोले लिने । यो गर्दै जाँदा पूरै वातावरण नै धमिलो हुन्छ ।
त्यसको संरक्षणको निमित्त चाहे मन्त्रिस्तरबाट होस् । चाहे क्याबिनेटबाट होस् यो हामी हटाएरै छोड्छौँ । नारायणहिटी राजदरबारको कुरा आएको हुनाले यो विषयमा मौखिक हामीले त्यो रोकेका छौँ । फेरि त्यसलाई कुन प्रक्रियाबाट हटाउन सकिन्छ भन्ने सबालमा हामी छलफलमा छौँ ।’
उनले नारायणहिटी सङ्ग्रहायलभित्र बतास समूहको प्रवेशको सम्बन्धमा छानबिन सुरु गरिएको पनि बताए । नारायणहीटी सङ्ग्रहालय भित्र बतास समूहले बनाउँदै गरेको रेष्टुरेन्ट लगाएतको भौतिक संरचनाको विषयलाई लिएर नेपाली जनताले त्यसको चौतिर्फि विरोध गरिंदै आएका छन् ।






