काठमाण्डौ । नेपालमा कोरोना भाइरसविरुद्धको खोप नलिएका, प्रतिरक्षा क्षमता कमजोर भएका र पहिला संक्रमित नभएका मानिस ओमिक्रोन प्रजातिबाट जोखिममा पर्न सक्ने चिकित्सकले औंल्याएका छन् । हाल अमेरिका, भारतलगायतका मुलुकमा तीव्र गतिमा फैलिएको ओमिक्रोनबाट नेपालमा पनि एक दर्जनजति संक्रमित भइसकेका छन् ।
यस्तो अवस्थामा खोप नलिएका, प्रतिरक्षा क्षमता कमजोर भएका र पहिला संक्रमित नभएका मानिसले ओमिक्रोनको जोखिमबाट जोगिन स्वास्थ्य मापदण्ड पालना गरी सजगता अपनाउनुपर्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, अनुसन्धान विभागका संयोजक डा. शेरबहादुर पुनले बताएका छन् ।
नेपालसँग सीमा जोडिएका भारतका विभिन्न राज्यमा ओमिक्रोनको संक्रमण बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै कोभिड अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिइसकेको छ । मन्त्रालयले कोरोना परीक्षणको दायरा बढाउने, कन्ट्याक्ट टेसिङलाई प्रभावकारी बनाउनेजस्ता काम पनि सुरु गरिसकेको जनाएको छ ।
सीमा नाकाहरूमा हेल्थ डेस्क स्थापना गरी परीक्षण गर्ने र निगरानी बढाउने कार्यलाई पनि निरन्तरता दिइएको जानकारी मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्रले दिइन् । कुनै पनि महामारी भारतमा फैलिएपछि नेपालमा पनि भित्रिने विगतको अनुभवसँगै नेपालमा सम्भावित जोखिम हेरी सीमा नाकाहरूमा कोरोना परीक्षण भइरहेको प्रदेश २ जनस्वास्थ्य प्रयोगशालाका प्रमुख तथा भाइरोलोजिस्ट डा. श्रवणकुमार मिश्रले बताए ।
उनले प्रदेश २ का सीमा नाकाबाट नमुना संकलन गरी ओमिक्रोनको जिन सिक्वेन्स गर्दा अहिलेसम्म नपाइएको बताए। प्रदेश २ मा अहिलेसम्म १९ वटा नमुनाको ‘एसजिन टार्गेट फेलियर’ को परीक्षण गरिसकिएको छ । यो क्रम निरन्तर रहेको डा. मिश्रले बताए । थप परीक्षणका लागि राष्ट्रिय प्रयोगशालामा समेत नमुना पठाइरहेको जानकारी उनले दिए । यो समाचार नागरिक दैनिकमा छ ।






