काठमाण्डै । नेकपा माओबादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीको आठौं महाधिवेशनमा ४५ पृष्ठ लामो राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । एक्काइसौं शताब्दीमा नेपाली समाजवादी क्रान्तिको बाटो कस्तो हुन्छ भन्ने दस्तावेजमा देखाउन खोजिएको यसको शीर्षकले स्पष्ट पार्छ । प्रतिवेदनको शीर्षकमै भनिएको छ– ‘एक्काइसौं शताब्दीमा समाजबादको नेपाली बाटो ।’
प्रचण्डको प्रतिवेदनमा सातवटा च्याप्टर छन् । १. विषय प्रवेश । २. संक्षिप्त पृष्ठभूमिसहित वर्तमान परिस्थितिको समीक्षा (क–अन्तरराष्ट्रिय परिस्थितिको समीक्षा र ख– संक्षिप्त ऐतिहासिक पृष्ठभूमिसहित राष्ट्रिय राजनीतिक परिस्थितिको समीक्षा) । ३. विज्ञान प्रविधिको विकास र समाजवादको औचित्य ।
४. पार्टी इतिहासको संक्षिप्त सिंहावलोकन । ५. नेपाली पुँजीवादी क्रान्तिको मौलिकता र समाजवादी क्रान्तिको रणनीति कार्यनीतिबारे । ६. समाजबादको आधार निर्माणसँग सम्बन्धित केही सैद्धान्तिक प्रश्नहरु । र, ७. पार्टीका तात्कालिक नीति, योजना र कार्यक्रमको रुपरेखा ।
अन्तरराष्ट्रिय परिस्थितिबारे प्रचण्डले लामो व्याख्या गरेका छन् । मार्क्स, लेनिन र माओका योगदानहरुको चर्चा गर्दै प्रचण्डले अहिलेको वित्तीय पुँजीवादी युगमा समाजवादी क्रान्तिको नयाँ मोडेल आवश्यक रहेको तर्क गरेका छन् । र, त्यसको क्रान्तिको नेपाली मोडेल आफूले बनाउन खोजेको प्रतिवेदनको शीर्षकले भन्न खोजेको छ ।
विज्ञान र प्रविधिको विकास एवं डिजिटलाइजेसनको विकासबारे पनि प्रचण्डले लामो व्याख्या गरिएको छ । त्यसैगरी नेपालको कम्युनिस्ट आन्दोलनको व्याख्या पनि प्रतिवेदनमा लामै छ । यति सबै व्याख्या गरिसकेपछि प्रचण्डले समाजबादको आधार निर्माणसँग सम्बन्धित केही सैद्धान्तिक प्रश्नहरु उठाएका छन् ।
माओबादी अध्यक्ष प्रचण्डले नेपालमा अब चुनावबाटै समाजबादको आधार निर्माण हुन सक्ने निश्कर्ष निकालेका छन् । आफ्नो दस्तावेजमा प्रचण्डले भनेका छन्, ‘के शान्तिपूर्ण प्रतिस्पर्धाको चुनावी बाटोबाट समाजवादको आधार निर्माण सम्भव छ ? कम्युनिष्ट आन्दोलनको बीसौं शताब्दीमा स्थापित मान्यताअनुसार यो सम्भव छैन ।
तर, हामीले विगतका प्रतिक्रान्तिका अनुभव, २१ औं शताब्दीका विशेषता र मुख्यतः नेपालको पूँजीवादी जनवादी क्रान्तिमा कम्युनिष्ट पार्टीको नेतृत्वमा जनताले खेलेको भूमिकासमेतलाई विचार गरेर त्यो सम्भव छ भनेका छौं ।’माओवादी अध्यक्ष प्रचण्डले समाजबादको तयारीमा केही लामो समय लाग्न सक्ने आँकलन गरेका छन् ।
उनी भन्छन्, ‘राष्ट्रिय पुँजीको कमजोर स्थिति, अर्थतन्त्रमा दलाल नोकरशाही पुँजीवादीको बलियो पकड तथा सामन्ती अवशेष र वैदेशिक हस्तक्षेपका विरुद्ध संघर्षको आवश्यकताका कारण तत्काल समाजवादमा जान तथा समाजवादी कार्यक्रम लागू गर्न सम्भव छैन ।’
तात्कालिन दृष्टिले पार्टीको ध्यान शान्तिपूर्ण प्रतिस्पर्धा र वैधानिक बाटोबाट समाजबादको आधार तयार पार्ने कुरामा केन्द्रित हुने प्रचण्डले बताएका छन् । यो वैधानिक बाटो भनेको चुनावी बाटो नै हो । किनभने, उनले चुनावबाटै समाजबादको तयारी सम्भव रहेको बताएका छन् ।






