काठमाण्डौ । आइतबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान हलमा जारी नेकपा माओबादी केन्द्रको ८ औँ महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीकी महामन्त्री कुन्ती शाहीको बोली चिप्लियो । कार्यक्रममा उपस्थित अतिथिहरुलाई सम्बोधन गर्ने क्रममा नै उनको बोली चिप्लिएको थियो ।
उनले सम्बोधनका क्रममा नेकपा एमाले महासचिव ईश्वर पोखरेल भन्दै सम्बोधन गरिन् । उनले यसो भनेपछि कार्यक्रममा हाँसो चल्यो । माओबादीको महाधिवेशनमा अतिथी बनेर आएका महासचिव शंकर पोखरेलले पनि कुन्तीतर्फ पुलुक्क हेर्दै हाँसे । माओबादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि उनीतिर हेर्दै खुबै हाँसे ।
उनी अड्किँदै अड्किँदै बोलिरहेकी थिइन् । कार्यक्रममा उपस्थित भएका कार्यकर्ताहरु पनि हाँसे पछि कुन्तिले कुरा बुझिन् । त्यसपछि शाहीले आफ्नो बोली सच्याइन् र शंकर पोखरेलको नाम लिइन् । तर, पनि जनता समाजबादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको नाम लिने क्रममा फेरि अड्किइन् र उनलाई पछाडिबाट उपेन्द्रको नाम भनेपछि उनले सम्बोधन अघि बढाइन् ।
सम्बोधनका क्रममा माओवादी र राप्रपाको विचारधारा फरक भए पनि एउटा विचारमा भने मिल्ने बताइन् । मौलिकता, संस्कृतिलाई समृद्ध, राष्ट्रियतालाई बलियो बनाउने विचारमा आफ्नो पार्टीसँग माओवादी मिलेको तर, वाद फरक रहेको उनले बताइन् ।
महामन्त्री शाहीले अहिले पनि लाखौँ युवा विदेशमा दुःख गर्न बाध्य रहेको, देशमा अस्थिरताको कालो बादल मडारिएको, देशको स्वाधीनता खतरामा परेको अवस्थामा माओवादीको महाधिवेशनले एउटा नयाँ निष्कर्ष निकाल्नुपर्ने बताईन् । राप्रपा र माओबादीबीच विचार र वादमा फरक भए पनि स्वाधीनता र देशको रक्षा गर्ने सवालमा एकै ठाउँमा उभिनुपर्ने राप्रपाकी महामन्त्री शाहीको भनाई थियो ।
उनले भनिन्, ‘आज यहाँका युवाहरु कहाँ छन् ? सय डिग्रीको भूमिकामा पसिना सिञ्चित गरिरहेका छन् । अब, उनीहरुलाई स्वदेश फर्काएर देश विकास गर्ने कि नगर्ने रु त्यसैले देश निर्माणमा सबै दल एकजुट होऔँ । सबै मिलेर देशको विकास गरौं । ’






