काठमाण्डौ । नेकपा माओबादी केन्द्रले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय गरेको छ । शनिबार बसेको स्थायी समिति बैठकले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपमान्तरण गर्ने निर्णय गरेको हो ।
बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले पार्टीमा आकर्षण बढ्दै गएकाले राष्ट्रिय सम्मेलनलाई आठौं महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय भएको बताए । माओबादीले भोलिबाट काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्ने तयारी गरिरहेको थियो ।
तर पार्टीमा आकर्षण बढेपछि त्यसलाई परिवर्तन गरेर राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ । माओबादीले आइतबार बिहान ८ बजे केन्द्रीय समितिको बैठक बोलाएको छ। उक्त बैठकले स्थायी समिति बैठकको निर्णय अनुमोदन गर्ने प्रवक्ता महराले जानकारी दिए ।
यसअघि माओबादीले हेटौंडामा महाधिवेशन गरेको थियो । माओबादी केन्द्रको राष्ट्रिय महाधिवेशनमा नेता वर्षमान पुन अनुपस्थित हुने भएका छन् । जन्डिस बिग्रिएर लामो समयदेखि उपचाररत नेता पुन महाधिवेशनमा अनुपस्थित हुने भएका हुन् ।
उनी केही सता यता चीनमा उपचाररत छन् । थाइल्याण्डमा उपचार गराइरहेका नेता पुनको स्वास्थ्यमा सुधार नभएपछि उनलाई चीन लगिएको थियो । स्वास्थ्यमा सुधार आए पनि डाक्टरहरुले उनलाई थप केही दिन अस्पतालमा बस्न सुझाव दिएपछि उनी चीनमा नै रोकिएका हुन् ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार फोन गरेर पुनलाई स्वास्थ्यको ख्याल गर्न र आराम गर्न सुझाव दिएका छन् । उनले महाधिवेशन पूर्णरूपमा सफल हुने जनाऊदै पुनलाई स्वास्थ्यलाभ गर्न आग्रह गरेका हुन् ।
पुनसँगै उनकी धर्मपत्नी ओनसरी घर्तीमगर पनि महाधिवेशनमा अनुपस्थित रहने छन् । वर्षमानलाई महासचिवको दावेदारको रुपमा हेरिएको छ ।






