काठमाण्डौ । नेपाली कांग्रेसको महामन्त्रीमा विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । यसअघि पार्टीका केन्द्रीय सदस्य तथा प्रवक्ता रहेका शर्मा १४औं महाधिवेशनबाट महामन्त्री निर्वाचित भएका हुन् ।
हामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएको औपचारिक रूपमा घोषणा गरिएको छ । २७ मंसिरमा दुई महामन्त्री पदका लागि भएको निर्वाचनमा थापा र शर्मा विजयी भएको कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।
उनका अनुसार थापाले तीन हजार २३ मत र शर्माले एक हजार ९८४ मत ल्याएर निर्वाचित भएका हुन् । नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो जित कांग्रेसलाई रुपान्तरित गर्ने यात्राको प्रारम्भ भएको बताएका छन् । कांग्रेसको १४ औं महाधिवेशनबाट महामन्त्रीमा गगनकुमार थापासँगै शर्मा निर्वाचित भएका छन् ।
जितपछि पार्टी कार्यालय सानेपा पुगेका शर्माले सञ्चारकर्मीहरुसँग कुरा गर्दै भने, ‘यो एउटा व्यक्तिको विजय पनि होइन, गुटको विजय पनि होइन । सिंगो नेपाली कांग्रेसलाई रुपान्तरित गर्ने, नयाँ ढंगले सुरुवात गर्ने यात्राको प्रारम्भ हो ।’
उनले अघि भने, ‘फरक फरक विचार समूहमा रहेका सबै साथीहरुको मत प्राप्त गरेर जित्नु भनेको सिंगो कांग्रेसलाई सयौं थुंगा फूलका हामी एउटै माला नेपाली भने जस्तै भावनामा गाँस्नु हो ।’
शर्माको संक्षिप्त जीवनी
युवा नेता विश्वप्रकाश शर्माको जन्म विस ६ पुस २०२७ सालमा झापाको शान्तिनगरमा भएको हो । बुवा परशुराम भण्डारी र आमा सावित्रा भण्डारीका छोरा शर्माले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गरेका छन् । उनका एक छोरा र एक छोरी छन् ।
२०३७ सालमा झापामा विद्यालय पढ्दादेखि नै राजनीतिमा लागेका शर्मा नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघको महामन्त्री र अध्यक्ष भइसकेका छन् । सिर्जनशील युवा नेता शर्मा राजनीतिक विश्लेषक एवं साहित्यकारका रुपमा पनि परिचित हुनुहुन्छ ।
१३औं महाधिवेशनबाट केन्द्रीय सदस्यका साथै पार्टीको केन्द्रीय प्रवक्ताको जिम्मेवारीमा रहेका शर्मा १४औ महाधिवेशनमा पार्टीको कार्यकारी पद महामन्त्रीमा निर्वाचित भएका हुन् ।
अघिल्लो आम चुनावमा झापा क्षेत्र नम्बर १ बाट राम कार्कीसँग पराजित भएका थिए । संसदीय प्रतिस्पर्धामा पराजित शर्मा पार्टी प्रतिस्पर्धामा भने सफल भएका छन् ।
युवा प्रतिनिधिको लोकप्रिय मत उनले पाएका छन् । ‘बदलिएको कांग्रेस, बलियो कांग्रेस’को नारा उनले दिएका थिए । पार्टी प्रवक्ता बनाए पनि कृष्ण सिटौलासँगको सहकार्यले शेरबहादुर देउवाले टिकट नदिँदा शर्मा प्रकाशमान सिंह टिमबाट प्रतिस्पर्धामा हो’मिएका थिए ।






