काठमाण्डौ । कांग्रेस नेता आरजू देउवाले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र माओबादी अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड) ‘बेस्ट फ्रेन्ड’ भएको खुलासा गरेकी छन् । उनले १४औं महाधिवेशनमा सभापति चयनका लागि दोस्रो चरणको निर्वाचनमा मतदानमा जानुअघि पत्रकारसँगको कुराकानीमा देउवा र प्रचण्ड अत्यन्तै मिल्ने साथी भएको खुलासा गरेकी हुन् ।
साथै आरजुले देउवाको आनीबानी र विशेषताको बारेमा पनि पत्रकारहरुसंग खुलेर कुरा गरेकी छन् । उनले आफ्नो श्रीमान अर्थात देशकै प्रधानमन्त्री र पार्टी सभापति देउवाको चाँडै रिसाउने बानी र तुरुन्तै बिर्सिहाल्ने बानी भएको बताएकी छिन् । पत्रकारसँगको कुराकानीमा आरजूले पति देउवाका राम्रा–नराम्रा बानीबारे चर्चा गरेकी हुन् । आरजूले भनिन्, ‘उहाँ एकदमै चाँडै रिसाउनु हुन्छ । तर बिर्सिहाल्नु पनि हुन्छ । पूर्वाग्रह राख्नुहुन्न ।’
गृहमन्त्री भइसकेपछि आफूले कुनै बेला देउवालाई ‘तपाईं जेलमा छँदा यातना दिने प्रहरी देख्दा कस्तो लाग्छ ?’ भनेर सोधेको स्मरण गर्दै उनले भनिन्, ‘त्यो उसको ड्युटी थियो । त्यो उसको बर्दीको कुरा थियो । मैले कसरी पूर्वाग्रह राख्न मिल्छ ? भन्नु भा’थ्यो ।’ श्रीमान देउवाको कुरालाई उद्धृढ गर्दै आरजुले पत्रकारहरुलाई बताईन् ।
विगतका तिता कुरा चाँडै बिर्सिने र क्षमा दिने बानी देउवामा भएको बताईन् ।
आरजुले देउवाको यस्तै बानीले नै माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र देउवाबीचको मित्रता पनि निकै नै प्रगाढ भएको खुलासा गरिन् । ‘कुनै बेला एकजनाले टाउकोको मूल्य राखेको र अर्कोले झन्डै मारेको । कस्तो मारामार थियो । तर आज दुवै जना बेस्ट फ्रेन्ड छन्,’ यति भनेपछि उनी सभागृहमा आफ्ना पतिलाई भोट हाल्न मतदान केन्द्रतर्फ लागिन् ।
आरजूले लन्डनमा अध्ययन गरेकाले देउवाको अंग्रेजी भाषा भने तुलनात्मक रुपमा राम्रो भएको बताइन् । त्यस्तै अध्ययन र भम्रणमा पनि देउवाको रुची रहेको उल्लेख गर्दै आरजूले भनिन्, ‘उहाँ विशेषगरी दर्शनसम्बन्धी पुस्तक पढ्न रुचाउनुहुन्छ । अनि स्वास्थ्यसम्बन्धी पढ्न रुचाउनुहुन्छ । स्वास्थ्यसम्बन्धी सोध्यो भन्यो उहाँले सबै कुरा भन्नुहुन्छ । सानोमा उहाँलाई डक्टर पढ्न मन थियो क्यारे ९हाँस्दै० तर राजनीतिमा आउनु भयो ।’
प्रधानमन्त्री देउवा कांग्रेसको १४ औँ महाधिवेशनबाट पुनः सभापतिमा निर्वाचित भएका छन् । दोस्रो चरणको मतदानमा शेखर कोइरालालाई ८ सय ७८ मतले पराजित गर्दै उनी सभापति बनेका हुन् ।सोमबार भएको मतदानमा कसैले पनि ५० प्रतिशत मत ल्याउन नसकेपछि बढी मत ल्याउने दुई जनाबीच मंगलबार पुनः निर्वाचन गराएर कांग्रेसको नेतृत्व चयन गरिएको हो ।






