काठमाण्डौ । नेपाली कांग्रेसको सभापतिका लागि पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि आजै दोस्रो चरणको मतदान हुने भएको छ । त्यसका लागि अहिले राष्ट्रियसभा गृहमा निर्वाचन समितिको बैठक बसिरहेको छ ।
पहिलो चरणमा देउवाले २२ सय ५८ र कोइरालाले १७ सय २९ मत ल्याएका छन् । महाधिवेशनमा ७७ मत बदर भएको छ । पहिलो चरणमा देउवालाई बहुमतका लागि ८२ मत नपुगेपछि आजै दोस्रो चरणको मतदान हुने भएको हो ।
दोस्रो चरणमा देउवा र कोइरालाबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । पुनः मतदान हुँदा बढी मत प्राप्त गर्ने उम्मेदवार विजयी हुनेछ । मतपरिणाम अनुसार प्रकाशमान सिंहले तीन सय ७१, विमलेन्द्र निधिले दुई सय ४९ र कल्याण गुरुङले २० मत पाएका छन् ।
निर्वाचनमा ४६ सय ८१ मत खसेको थियो । अव दोस्रो चरणको निर्वाचनमा देउवा र कोइरालाबीचमात्र प्रतिस्पर्धा हुनेछ । बाँकी उम्मेदवारले जसलाई समर्थन गर्छन त्यसले सभापतिमा बाजी मार्ने निश्चित छ । सभापतिको दोस्रो चरणको निर्वाचन हुने भएपछि अन्य पदाधिकारिको मतगणना गर्न समय लाग्ने देखिएको छ ।
अन्य पदाधिकारिको मतगणना भने पार्टी कार्यालय सानेपामा हुनेछ । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३२ पदका लागि मतदान भएको थियो ।






