काठमाण्डौ । नेकपा एमालेका उपामहासचिव पृथ्वीसुब्बा गुरुङले स्थायी कमिटी र पोलिटव्यूरो गठनप्रति असन्तुष्टि जनाएका छन् । उनले ओलीद्धारा एमालेले ४४ जना केन्द्रीय सदस्य मनोनीत गरेको विषयमा असन्तुष्ति जनाएका हुन् ।
केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले नाम प्रस्ताव गरेपछि गुरुङको असन्तुष्टि सार्वजनिक भएको हो । योभन्दा अघि उपामहासचिव गुरुङ भने ओलीले पार्टीको विषयलाई लिएर जस्तो सुकै निर्णय गरेतापनि ओलीकै पक्षमा आफ्नो विचार राख्दै आएका हुन्थे । तर यसपटक भने व्यक्तिगत रुपमा निर्णय लिनु गलत भएको भन्दै ओलीलाई कटाक्ष हानेका छन् ।
गुरुङले व्यक्तिगत निर्णयले पार्टी नचल्ने बताउँदै सामूहिक निर्णय प्रणालीमा जानुपर्नेमा जोड दिएका छन् । ‘मापदण्ड नबनाएको र व्यक्तिगत निर्णय गर्दा २, ३ कार्यकाल काम गरेका नेताहरु समेत पोलिटव्यूरोमा छुटेको भन्दै गुरुङले भनेका छन्, हामी कसरी लिडरसिपको विकास गर्छौ भन्ने कुरा मुख्य हो । एउटा मापदण्ड बनाएनौं भने हुने यस्तै हो ।’ उनले भने ।
आइतबार बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी ओलीले विधान अनुसार १० प्रतिशत केन्द्रीय कमिटी सदस्य मनोनयनका लागि ४४ जना नेताको नाम प्रस्ताव गरेका थिए । सबैलाई केन्द्रीय कमिटी बैठकले मनोनीत गरेको हो ।
विधानअनुसार खुला २०, महिला १५ जना र पार्टी एकताको प्रक्रियाबाट नौ जना मनोनीत गरिएको एमालेले जानकारी दिएको छ । मनोनीत हुनेमा एमालेका प्रमुख सचेतक विशाल भट्टराई, लालबाबु पण्डित, दुर्गा प्रसाईदेखि विद्यार्थी नेता ऐन महरसम्म छन् । प्रसाई मेडिकल व्यवसायी हुन् ।
उनी माओबादी केन्द्र छाडेर एमाले प्रवेश गरेका थिए । पण्डित पदाधिकारीमा नाम नपरेपछि एमालेको महाधिवेशन नै छाडेर हिँडेका थिए । विगतमा उनी एमालेमा माधवकुमार नेपाल निकट थिए । पुरुषतर्फ दल फडेरा, ऐन महर, मानवीर राई, चन्द्रमोहन गौचन, रतनाथ योगी, रमेश पौडेल, पदम गिरी,
सूर्य पाठक, यज्ञ बोगटी, हरि घिमिरे, युवराज बास्तोला, विशाल भट्टराई, उद्धव रेग्मी, बद्री न्यौपाने, रुपनारायण श्रेष्ठ, प्रेम दंगाल, हरिकृष्ण व्यञ्जनकार, भीम केसी, लालबाबु पण्डित, सुभास देवकोटा, चुडादेव सिंह, रेशम लामा, दुर्गा प्रसाई, गोविन्द दुवाल, सहदेव बोगटी, बालसिंह काउछा, कृष्ण केसी, चन्द्रबहादुर विक, विषमलाल अधिकारी,
महिलातर्फ इन्दिरादेवी गौतम, सरस्वति चौधरी, यमुना रोका, उमा कोइराला, कल्पना चापागाई, आशा विक, नैनकला ओझा, मन्जु गुरुङ, विमला अर्याल, इन्दिरा सन्जाल, शान्ति अधिकारी, रुक्मीणि राठा, सरस्वति यादव, तारादेवी गुरुङ, गीता कार्की परेका छन् ।






