काठमाण्डौ । नेपालमा पनि कलाकारहरुको मोह कला क्षेत्रमाभन्दा पनि राजनीतिकमा बढी चासो देखिन थालेको छ । नेपालको राजनीतिमा नेपाली कलाकारहरुले खुलेर आफ्नो विचार राख्न थालेका छन् । विचार राख्ने र बहस गर्ने मात्र नभई पार्टीमा आफ्नो संलग्नता समेत देखाउन थालेका छन् । नेपालका चर्चित कलाकारहरुले आफुले समथएन गर्ने पार्टीको टिकट लिएर चुनावी मैदानमा समेत उत्रिएको कुरा त कलाकार रेखा थापाबाटै प्रष्ट हुन्छ ।
रेखा जस्तै कलाकारीतालाई पाखा लगाएर पार्टीमा आवद्ध भएका कलकार हुन् शिवशंकर रिजाल पनि । उनी जोगिन्दरको उपनामले परिचित कलाकार हुन् । उनी यस पटकको नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि सर्लाही क्षेत्र नम्बर ४ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।
नेपाल सांस्कृतिक संघका महामन्त्रीसमेत रहेका रिजाल क्षेत्रीय अधिवेशनमा पाँच सय १३ मत प्राप्त गरी विजयी भएका हुन् । मंगलबार सर्लाही ४ को गोडैता नगरपालिका(५ स्थित एक विद्यालयमा अधिवेशन सम्पन्न भएको थियो ।
उनी बरहथवा नगरपालिका(१५ निवासी हुन् । दोस्रोपटक सर्लाहीबाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका रिजालले मतदाताप्रति आभार व्यक्त गरे । उनले आफूसँगै महाधिवेशनको प्रतिस्पर्धामा रहेकालाई यसलाई घरभित्रकै प्रतिस्पर्धाको रूपमा बुझ्न आग्रह गरे ।
‘लोकतान्त्रिक पार्टी भएकै कारण हामी प्रतिस्पर्धा गर्छौं । तर, नतिजा आएपछिको हाम्रो लक्ष्य र उद्देश्य एक नै हुन्’ रिजालले भने । उनले १४औं महाधिवेशनमा युवासँगै धेरै कलाकर्मी महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएको बताए ।
‘हामी कलाकारले अब हाम्रो आवाज पार्टीमा अझै बुलन्द रूपमा राख्न सक्छौ । यसबाट कलाकारिता क्षेत्रमा आफ्नो जीवन समर्पित गरेकाहरूलाई अवश्य टेवा पुग्ने छ’ उनले भने । नेपाल विद्यार्थी संघबाट आफ्नो राजनीतिक यात्रा आरम्भ गरेका रिजाल सर्लाही क्षेत्र नम्बर ४ बाट क्रियाशील सदस्य छन् ।






