काठमाण्डौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफूलाई मिडियाले खेदेको दाबी गरेका छन् । आज (सोमबार) मन्त्रालयकै सभाहलमा आयोजित एक कार्यक्रममा आलेले राम्रो काम गर्दागर्दै पनि आफूलाई मिडियाले जस नदिएको बताएका हुन् ।
‘राम्रो काम गर्दा गर्दै पनि अहिले कता कता, कतिपय मानिसहरूले उनीहरूको व्यक्तिगत स्वार्थअनुसार काम नहुँदा विभिन्न मिडियामा देखाउने कामहरू गरिरहेका छन्, त्यसमा मैले भन्नुपर्ने केही छैन । त्यो त तपाईंहरू आफैंले पनि बुझ्न सक्नुहुन्छ ।’
मन्त्री आलेले भने, ‘पत्रकार साथीहरू पनि यहीँ हुनुहुन्छ । म आइसकेपछि मैले गरेका कामहरू राम्रा कामहरूको राम्रो न्यूज दिनुहोला । यदि मैले खराब काम गरेँ भने खराब भनेर लेख्नुहोला । म यो भन्दिनँ कि नराम्रो काम गरेकोलाई राम्रो भनिदिनुस् ।’ मिडियाले खेदेपनि आफुले कहिल्यै गलत काम नगर्ने उनको भनाई थियो ।






