काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजबादी) का अध्यक्ष माधवकुमार नेपालले निर्वाचनपछि केपी ओलीको पार्टी लाइट बालेर खोज्नुपर्ने बताएका छन् । एकीकृत समाजबादी अर्घाखाँची जिल्ला पार्टीको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले निर्वाचनपछि केपी ओलीको पार्टी लाइट बालेर खोज्नुपर्ने बताएका हुन् ।
ओलीले संविधानविपरीत दुई दुई पटक संसद् विघटन गरेपछि अहिले बहुमत नेपाली जनताहरू उनको पार्टीको विपक्षमा रहेको दाबी गरेका हुन् । उनले भने ,‘जनमतको अपमान गर्नेलाई निर्वाचनमा जनताले देखाइदिन्छन् ।’ निर्वाचनमा रामबहादुर थापासँग कलम चिन्हका स्वतन्त्र उम्मेदवार खिमलाल देवकोटाले पराजित गरेको स्मरण गराउँदै कलम चिन्हको विजयी यात्रा शुरु भैसकेको बताए ।
संविधानको रक्षा गर्दै ससंद् जोगाउने शक्तिहरू निर्वाचनसम्म एकै ठाउँमा रहने दाबी गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले निर्वाचनबाट ओलीको पार्टी पत्तासाफ हुने ठोकुवा समेत गरे । ओलीकै द म्भ, घ म ण्ड र सर्वसत्ताबाद प्रवृत्तिले केन्द्रीय सरकार लगायत सबै प्रदेश सरकार गुमाएको उनले जिकिर गरे । उनले संविधान बचाउने गठबन्धनबाट प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई भ्रष्टाचारको छानबिन गर्न आग्रह गरेका छन् ।
अध्यक्ष नेपालले सरकारमा बस्नेले गलत बाटोमा जान छुट नभएको उल्लेख गर्दै भ्रष्टाचार गर्नेलाई जोसुकै भए पनि कारवाहीको दायरामा ल्याउनुपर्ने बताए । सुखि नेपाली, समृद्ध नेपाल बनाउने अभियानमा पार्टी लागेकाले सबै नेता कार्यकर्ताहरू यसमा हातेमालो गर्न पूर्व प्रधानमन्त्री नेपालले सबैलाई निर्देशन दिए ।
पाँच दलको गठबन्धन सरकार भएको जस्तै अब हुने राष्ट्रिय सभा, स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा गठबन्धन सरकारमा रहेका दललगायत अरू दलसँग सुमधुर सम्बन्ध राख्दै सहमति गरेर अगाडि बढ्न पनि उनले निर्देशन दिए ।






