काठमाण्डौ । राप्रपाकी नेतृ तथा अभिनेत्री रोखा थापाको एक भिडयो सार्वजनिक गर्दै पार्टी अध्यक्ष कमल थापाले अभिनेत्री थापा गणतन्त्रको पक्षधर भएको टिप्पणी गरेका छन् । राप्रपाको निर्वाचनमा थापाले महिला कोटाबाट केन्द्रीय महामन्त्रीमा उम्मेदवारी दिएपछि थापाले रेखा गणतन्त्रबादी भएको टिप्पणी गरेका हुन् ।
रेखा राजेन्द्र लिङ्देन प्यानलबाट महामन्त्रीको उम्मेदवार बनेकी हुन् भने आफ्नो विरोधी कित्तामा रहेपछि थापाले पुरानो भिडियो क्लिप सामाजिक सञ्जाल फेसबुकमा राखेर रेखाको खेदो खनेका हुन् ।
रंग पत्रकार प्रकाश सुवेदीसँगको पुरानो अन्तरवार्ताको क्लिप शेयर गर्दै थापाले भनेका छन्, ‘हाहाहा……नो कमेन्ट ।’ उक्त अन्तरवार्तामा राजतन्त्र या गणतन्त्र मध्य एकलाई रोज्नु पर्ने थियो । रेखाले गणतन्त्रलाई रोजेकी थिईन् । पत्रकार सुवेदीले रेखालाई ‘राजतन्त्र कि गणतन्त्र’ भन्ने प्रश्न गर्दा रेखा थापाले ‘गणतन्त्र’ भन्ने जवाफ दिएर गणतन्त्रलाई रोजेकी थिईन् । त्यसपछि पत्रकार सुवेदीले रेखालाई ‘तपाईँ अहिले कुन पार्टीसँग आबद्ध हुनुहुन्छ ?’ भनेर गरिएको प्रश्नमा अभिनेत्री थापाले ‘राप्रपा’ भन्ने जवाफ दिएकी थिईन् ।
एवं प्रकारले अन्तरवार्तामा गरिएको प्रश्न मध्यको एउटा अर्का प्रश्न ‘राप्रपाको उद्देश्य के हो थाहा छ, यहाँलाई ?’ थापाको जवाफ,‘थाहा छ । मैले आम जनताको भाषा बोलिरहेको छु । पार्टीको सिद्धान्त र विचार आफ्नो ठाउँमा छँदैछ । पार्टीकै सिद्धान्तमा कतिपय मानिसहरुमा त्यो चिज चित्त नबुझेको पनि हुनसक्छ । त्यो पछि ब्याख्या गरौँला,,,,,,,,,,,,,,,,,,,।’
‘सुवेदीले फेरि सोध्छन्–यसो बोल्दा तपाईँलाई पार्टीले कारबाही गर्दैन ?’ रेखा भन्छिन्,‘गर्दैन, यो त म रेखा थापा बोलिरहेको छु । पार्टीको कुनै नेतृको रुपमा बोलाउनु भएको छैन नि तपाईँले । ग्ल्यामर गफमा रेखा थापालाई बोलाउनु भएको छ । अभिनेत्रीलाई बोलाउनु भएको छ । म नेपाली जनताको कलाकार भएको हिसाबले र सामान्य नागरिक भएको हिसाबले गणतन्त्र यसकारणले रोजेँ कि गणतन्त्रमा कुनैपनि बच्चाबच्ची जन्मिँदै गर्दा यो देशको कार्यबाहक हुने अधिकार प्राप्त गरेर जन्मिन्छ ।’
सुबेदी र थापा बीचको सोही पुरानो अन्तवार्ताको एक अशंलाई लिएर अध्यक्ष थापाले जब भिडियो शेयर गर्दै रेखालाई व्यंग गरे त्यसपछि राप्रपामा खै ला बै ली नै मच्चिएको छ । हिन्दु राष्ट्र र राजसंस्थाको एजेण्डा बोकेको पार्टी भएपनि रेखाले गणतन्त्रको वकालत गरेको र उनलाई महामन्त्रीमा जिताउन नहुने आशय थापामा देखिन्छ । राप्रपाकै कतिपय नेताहरुले भने कुनै एक सन्दर्भको पुरानो भिडियोलाई थापाले चुनावी अस्त्रको रुपमा प्रयोग गरेको भन्दै आलोचना पनि गरेका छन् ।






