काठमाण्डौ । पछिल्लो समय यता राप्रपामा पार्टीका नेता र नेतृबीच एकअर्काको चरित्रलाई लिएर दोहोरी नै मच्चिएको छ । पर्टी अध्यक्ष कमल थापा र सोही पार्टीकी नेतृ तथा अभिनेत्री रेखा थापाबीच यतिबेला आफूविरुद्ध गरिएको टिप्पणीको विषयलाई लिएर दोहोरी मच्चिएको हो । अध्यक्ष थापाले आफुविरुद्ध टिप्पणी गरेपछि नेतृ तथा अभिनेत्री रेखा थापाले पनि थापालाई कडा जवाफ फर्काएकी छिन् ।
थापाले रेखाको आलोचना गर्दै एक भिडियो क्लिप सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेपछि रेखाले पनि थापाले एमसीसीको पक्षमा दिएको अभिव्यक्तिको भिडियो क्लिप सार्वजनिक गरेकी हुन् । रेखा थापाको भिडियो क्लिप सेयर गर्दै कमल थापाले भने,‘ हाहाहा,,,,,,,,नो कमेन्ट ।’ थापाको सोही प्रतिकृयालाई सार्वजनिक गर्दै रेखाले भनेकि छन्, ‘नो कमेन्ट, राष्ट्रवादी नेता भन्न असजिलो हुन्न उहाँलाई ?’
भिडियो क्लिपमा कमल थापाले एमसीसीबारे राष्ट्रिय सहमति रहेकाले पास गर्नुपर्ने धारणा राखेका छन् । यसअघि कमल थापाले रेखा गणतन्त्रबादी भएको भन्दै उनलाई हिन्दुबादी पार्टीमा ठाउँ नरहेको आशय दिने भिडियो क्लिप राखेका थिए । रेखा थापाले पार्टीको महाधिवेशनमा राजेन्द्र लिङ्देन समूहबाट महामन्त्रीमा उम्मेदवारी दिएकी छिन् । आफू विरोधी खेमाबाट रेखाले उम्मेदवारी दिएपछि थापा र रेखा एकअर्काविरुद्ध खुलेरै उत्रिएका हुन् ।






