काठमाण्डौ । भारतमा कोरोना भाइरसको ओमिक्रोन भेरिएन्ट संक्रमित भेटिएका छन् । भारतको कर्नाटकमा २ जनामा ओमिक्रोन संक्रमित भेटिएका हुन् । बिहीबार भारतको स्वास्थ्य मन्त्रालयले २ जनामा ओमिक्रोन संक्रमण भेटिएको जनाएको छ । मन्त्रालयले संक्रमितहरु ६६ वर्ष र ४६ वर्षका पुरुष भएको र उनीहरुको कन्ट्याक ट्रेसिङको काम पनि भएको र अन्यको स्वास्थ्य परीक्षण पनि गरिएको जनाएको छ ।
योपनि पढौं
कोरोनाको ओमिक्रोन भेरियन्टबारे थाहा भएका कुराहरुः
काठमाण्डौ २६ नोभेम्बरमा विश्व स्वास्थ्य संगठनले बी.१.१.५२९ लाई भेरियन्ट अफ कन्सर्न भन्दै ओमिक्रोन नामाकरण गर्यो । यो धेरै पटक उत्परिवर्तित भएकाले यसले कस्तो प्रतिक्रिया देखाउने हो भन्नेमा वैज्ञानिकहरूको चासो छ । यो छिटो फैलिने, गम्भीर बनाउन सक्नेलगायत अहिले लगाएका खोप पनि प्रभावकारी नहुने जस्ता कुराहरु आइरहेका छन् । दक्षिण अफ्रिकाका अनुसन्धानकर्ता तथा विश्वका विभिन्न देशका वैज्ञानिकहरुले ओमिक्रोनको विविध पक्षबारे अध्ययनहरु गरिरहेका छन् ।
कत्तिको संक्रामक ?
ओमिक्रोन कत्तिको संक्रामक हुन सक्छ भन्ने अहिलेसम्म स्पष्ट भइसकेको छैन । संक्रामक भन्नाले एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्नु हो जस्तै डेल्टा भेरियन्ट अहिलेसम्मको संक्रामक मानिएको छ । दक्षिण अफ्रिकामा यो भेरियन्टबाट संक्रमण पुष्टि हुनेको संख्या बढिरहेको छ तर ईपिडिमोयोलिजक अध्ययन हुन बाँकी छ । यसले ओमिक्रोन हो वा अरु माध्यम भनेर देखाउनेछ ।
रोगको गम्भिरता कत्तिको हुन्छ ?
यो भेरियन्टले संक्रमण कत्तिको गम्भिर बनाउँछ भन्ने स्पष्ट रुपमा आइसकेको छैन । प्रारम्भिक तथ्यांकले दक्षिण अफ्रिकाका अस्पतालमा बिरामी भर्नाको संख्या बढिरहेको देखाइरहेका छन् । यो संख्या संक्रमण बढेर पनि हुन सक्छन् तर ओमिक्रोनले नै हो भन्ने देखिएको छैन । हालसम्म ओमिक्रोन भेरियन्टको संक्रमणले केही निश्चित लक्षणहरु देखिन सक्ने भन्ने सूचना आइसकेको छैन ।
अहिलेको केही रिपोर्ट हेर्दा युनिभर्सिटीका विद्यार्थीहरुमा देखिएको छ र मध्यम खालको संक्रमण देखिएको छ । रोग कत्तिको गम्भिर हुने वा नहुनेमा थाहा पाउन केही दिन तथा हप्ता नै लाग्न सक्छ । कोभिड १९ का सबै भेरियन्ट विशेष गरी डेल्टा अहिले जुन विश्वमा फैलिएको छ जसले जोखिम वर्गमा मृत्यु गराउने तथा गम्भीर बनाउन सक्छ । त्यसैले रोकथाम नै ठूलो उपाय हो ।
संक्रमणको प्रभाव यस्तो छः
प्रारम्भिक अध्ययनले ओमिक्रोनले पुनःसंक्रमण गराउन सक्ने जोखिम बढ्ने देखाउँछन् । जस्तै, जो मानिस पहिले कोभिड संक्रमित भइसकेका छन् उनीहरुलाई यो भेरियन्ट सजिलै फैलिन सक्छ । तर, यसबारे जानकारी सिमित छ ।
देशहरुलाई निर्देशन
ओमिक्रोन भेरियन्ट अफ कन्सर्नमा वर्गीकरण गरिएसँगै विश्व स्वास्थ्य संगठनले देशहरुलाई संक्रमणको निगरानी, सिक्वेन्सिङका लागि अनुरोध गरेको छ । संक्रमण फैलिन नदिन सबै देशहरुले स्वास्थ्यका मापदण्ड अपनाउनुपर्ने छ । साथै संक्रमण बढेको खण्डमा जनस्वास्थ्य तथा मेडिकल क्षमतालाई बढाउनुपर्नेछ । यसका लागि संगठनले सहायता तथा निर्देशन पनि दिइरहेको छ । त्यसैगरी जोखिम वर्ग, स्वास्थ्यकर्मी, ज्येष्ठ नागरिकहरुले पहिलो तथा दोश्रो मात्राको खोपको पहुँचमा ल्याउनुपर्छ ।
नागरिकहरुलाई सरकारको अनुरोध
कोभिड संक्रमणबाट बच्न मुख्यतः स्वास्थ्यका मापदण्ड पालना गर्नु नै हो । मानिसहरुले एक मिटरको दूरी राख्नुपर्छ । साथै, अनुहार राम्ररी छोप्ने मास्क तथा भिडभाड ठाउँमा भेन्टिलेसन कायम राख्नुपर्छ । त्यसैगरी हात सफा राख्ने, हाच्छ्युँ गर्दा मुख छोप्ने तथा आफ्नो पालोमा खोप लगाउने गर्नुपर्छ । विश्व स्वास्थ्य संगठनले आगामी दिनमा यससम्बन्धी जानकारी प्रवाह गरिरहनेछ ।






