काठमाण्डौ । माओबादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी फुटाएर महाधिवेशन भनेको भन्दै टिप्प्णी गरेका छन् । उनले ओलीलाई पार्टी ३ टुक्रा बनाएको आरोप पनि लगाए । मंगलबार भृकुटीमण्डपमा आयोजित राप्रपा महाधिवेशनको उद्घाटन कार्यक्रममा अतिथि बन्न पुगेका प्रचण्डले उद्घाटसत्रलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीलाई यस्तो आरोप लगाएका हुन् ।
उनले साँचो अर्थमा एकता महाधिवेशन राप्रपाले गरेको भन्दै राप्रपालाई बधाई तथा शुभकामना दिएका थिए । प्रचण्डले भने, ‘तपाईँहरुले जे गर्नुभयो यो महाधिवेशनको नाम पनि त्यही राख्नुभयो । तपाईँहरू तीनवटा मिल्नुभयो र महाधिवेशनको नाम एकता महाधिवेशन राख्नुभयो ।’ प्रचण्डले अगाडि भने, ‘तर, नेपाल पार्टी फुटाएर तीन टुक्रा पार्ने अनि एकता महाधिवेशन भन्ने पनि भर्खरै हामीले देखेका छौँ ।
त्यस्तो झूटो कुराचाहिँ तपाईँहरुले गर्नुभएन । पार्टी फुटाउने अनि नाम एकताको राख्ने रु तपाईँहरुले ठीक गर्नुभयो । ’ राप्रपा महाधिवेशनको उद्घाटन कार्यक्रममा अतिथि बन्न गएका प्रचण्ड चितवनको सौराहामा नेकपा एमालेको महाधिवेशनमा भने गएका थिएनन् ।






