काठमाण्डौ । मेषः पितृधनबाट फाइदा उठाउन सकिने छ । प्रशस्त आम्दानी हुने सङ्केत छ, तर आम्दानी गरिएको धन मनोरञ्जनात्मक क्षेत्रमा खर्च हुनसक्छ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । विगतमा गरिएको श्रमको समुचित मूल्याङ्कन हुनेछ । प्रतिष्ठित काम गर्ने अवसर जुर्नेछ । स्वास्थ्यस्थिति राम्रो रहनुका साथै काम गर्ने जाँगर बढ्ने छ ।
बृषः धर्म स्थानमा चन्द्रमा भएकाले आज परोपकारी काममा समय दिनु राम्रो हुन्छ । पुराना कुरा र यादमा आजको कुनै समय यापन हुनसक्छ । आफन्त वा साथीभाइले निस्वार्थ भावले सहयोग गर्नेछन् । शरीरमा उत्साह र उमङ्गको उदय हुनेछ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । मनोरञ्जनात्मक काममा रुचि जाग्नेछ । बौद्धिक क्षेत्रमा सफलता मिल्नेछ ।
मिथुनः प्रतिष्ठा प्राप्तिका लागि संघर्ष गर्नुपर्छ । तपाईंको कडा परिश्रम व्यर्थै खेर जान सक्छ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिसँग वादविवाद पर्न सक्छ । मनमा अशान्ति र छटपटी व्याप्त हुने छ । घरायसी वातावरण, दाम्पत्य र प्रणयसम्बन्धमा आज असहजता आउनसक्छ । कसैसँग व्यर्थमा वादविवाद हुनसक्छ । गर्नु नपर्ने कामबाट जोगिनु राम्रो हुन्छ, कुनै महत्वपूर्ण काम गर्न बाँकी भए आजलाई स्थगित गर्नु होला ।
कर्कटः काम गर्न जाँगर चल्नेछ, उत्साहवर्द्धक समय छ, आम्दानी बढ्न सक्छ । परिवारमा रमाइलो वातावरण सिर्जना हुनेछ, साथीभाइ र आत्मीयजनसँग भेटघाट हुनेछ । मनोरञ्जन र रमझममा रमाउन पाउनु हुनेछ । आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ । साथीभाइबाट प्राप्त सल्लाहबाट गरिएको कामबाट फाइदा हुनेछ । पेसाव्यवसाय वा बन्दव्यापारबाट लाभ मिल्नेछ ।
सिंहः आज गरिएका जुनसुकै काममा सफलता प्राप्त हुनेछ । शत्रुले तपाईंको छवि बिगार्ने प्रयास गरे पनि तिनको क्रियाकलापले उल्टै उनीहरूकै हानि हुनेछ । व्यवसायिक स्थितिमा सुधार आउने छ । स्वास्थ्य सबल रहने छ । हडबड र शीघ्रताले काम गर्ने प्रवृत्तिमा नियन्त्रण गर्नु राम्रो हुन्छ । लामो समयदेखि रोकिएका कामहरू बन्न सक्ने मौका छ । आकस्मिक निम्तोमा सहभागी हुने सम्भावना छ ।
कन्याः मुखमा सरस्वतीको बास छ, त्यसैले आज ज्ञान र सिप बाँडेर जस लिने समय हो । शैक्षिक प्रगतिका लागि अनुकूल समय आएको छ, पठनपाठनमा ध्यान दिनु बेस हुनेछ । साहित्यिक, बौद्धिक तथा प्राज्ञिक गतिविधिमा संलग्न हुने समय छ । हितैषी र साथीभाइले उपयोगी र आवश्यक सहयोग प्रदान गर्नेछन् । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । इष्टमित्रले प्रशंसा गर्नेछन् ।
तुलाः चन्द्रमा अशुभ छ, तर डराई हाल्नुपर्दैन । शुभ ग्रहको दृष्टि रहेकाले मान्यजन, हाकिम, मातापिता वा विशिष्ट व्यक्तिसँगको छलफलबाट लाभ हुने सम्भावना छ । घरायसी वातावरणमा सुधार आउने छ । मनमा उत्साह र हौसला प्राप्त हुनेछ । मानसिक रूपमा सबल भइने छ । मित्रवर्ग, साथीभाइ र सहयोगीहरूले भरपूर सहयोग गर्नेछन् । आज आफ्ना लक्ष्य र योजनाका बारेमा खुलेर छलफल गरेमा सही मार्गदर्शन हुनसक्छ ।
बृश्चिकः दाजुभाइ र बन्धुवान्धवका क्रियाकलापले हर्षित बनाउने छ । धार्मिक क्रियाकलाप, परोपकारी काम वा सामाजिक क्रियाकलापमा आजको समय व्यतीत हुनेछ, मनमा आध्यात्मिक र दार्शनिक भावना जागृत हुनेछ । दिनदुःखीलाई दिएको सानो सहयोगले रोकिएको काम बन्न सक्छ । पशुपालक र दुग्धव्यवसायमा संलग्नहरूले मनग्ये लाभ प्राप्त गर्नेछन् ।
धनुः भाँडाकुँडा, घरायसी बन्दोबस्तका सामान र सुनचाँदी जस्ता धातुको कारोवारबाट धेरथोर लाभ मिल्नेछ । बोलीमा पूर्ण प्रभाव छ, तर्कवितर्क र बहसमा विजय प्राप्त हुनेछ । धार्मिक सामाजिक कामको दायित्व थपिन सक्छ । मिष्ठान्न भोजन मिल्नेछ । आफन्तले प्रशंसा गर्नेछन्, जाँगर बढ्नेछ । नातेदार र कुटुम्बले तपाईंको काममा सहयोग गर्नेछन् अथवा आफैंले चेलीबेटी र कुटुम्बपक्षका काममा समय दिनुपर्नेछ ।
मकरः आत्मनिर्णयको क्षमतामा बृद्धि हुनेछ । जोस र जाँगर पलाउने छ, मन त्यसैत्यसै फुरुङ्ग हुने समय छ । उपहार पुरस्कार आदि मिल्नेछ । नयाँ काम गर्ने सोच बनाउनु भएको छ भने अनुकूल समय आएको छ । नयाँ कामको लागि नयाँ अवसर आउनेछ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन आकर्षित हुनेछ । दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन् । आफन्त र मित्रहरूसँग भेटघाट र रमाइलो गरिने छ ।
कुम्भः यात्राको योग छ । विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना भएकाले गोपनीयता अपनाएमा मात्र कुनै काम सम्पादन गर्न सहज हुनेछ । छरछिमेकमा परेको अप्ठ्यारो र असजिलो फुकाउन समय र धन लगानी गर्नु पर्ने हुनसक्छ । परोपकार र दानपुण्यका कार्यबाट लाभ लिन सकिने छ ।
मीनः मनमा चिन्ता, शङ्का र छटपटीको बास छ । भय र त्रासले सताइरहने छ । आत्मविश्वास र पराक्रममा कमी आउन दिनु हुँदैन, त्यसैले मन एकचित्त बनाएर लक्ष्य प्राप्ति गर्ने तर्फ लागिरहनु पर्ने दिन छ । सानातिना कुरामा अल्मलिनु पर्ने भएकाले केही महत्वपूर्ण अवसर गुम्नसक्छन्, होस राख्नु होला । राज्यपक्षका वा प्रशासनिक काममा ढिलासुस्ती हुने सम्भावना छ ।






