भरतपुर । नेकपा माओबादी केन्द्रकी केन्द्रीय सदस्य तथा भरतपुर महानगरपालिका कमिटी इन्चार्ज रेनु दाहालले माओबादी केन्द्र परिवर्तनको संवाहक भएको बताएकी छन् । नेकपा माओबादी केन्द्र भरतपुर महानगरपालिका वडा नं २३ द्वारा आयोजित कार्यकर्ता भेटघाट, चियापान तथा पार्टी प्रबेश कार्यक्रममा उनले माओबादी नै परिवर्तनको संवाहक भएको बताएकी हुन् ।
मेयर दाहालले १० वर्षे जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिहरूलाई संस्थागत गर्ने मुख्य भूमिका माओबादी र यसको नेतृत्वले गरेको बताईन् । उनले संघीयता ,धर्म निरपेक्षता,समावेशी समानुपातिक प्रणालीका साथै सबै बर्ग, क्षेत्र र समुदायको अधिकार माओबादी केन्द्रबाटै सम्भव भएको समेत जिकिर समेत गरिन् ।

उनले भरतपुर महानगरपालिकाले पूर्वाधार क्षेत्रका साथै शिक्षा क्षेत्रको गुणात्मक विकासका लागि उल्लेखनीय कामहरू गरेको पनि बताइन् । उनले नेपालको कम्यूनिष्ट आन्दोलनलाई एक ढिक्का बनाउन भएको एकतालाई केपी ओलीका कारण सम्भव हुन नसकेको पनि बताइन् ।
कार्यक्रममा बोल्दै बागमती प्रदेश सभा सदस्य तथा माओबादी केन्द्र जिल्ला कमिटी चितवनका सदस्य रामलाल महतोले माओबादी पार्टीले लिएको सही निती तथा कार्यक्रम, विकास र समृद्धिप्रति प्रतिबद्धताका कारण आम जनताको चासो माओबादी केन्द्रप्रति आकर्षित भएकोले पार्टी प्रवेशको लहर चलेको बताए ।






