काठमाण्डौ । नेकपा (माओवादी केन्द्र) को आगामी राष्ट्रिय सम्मेलन काठमाण्डौमा गर्ने निर्णय भएको छ । नेकपा (माओबादी केन्द्र) को मंगलवार बसेको स्थायी कमिटी बैठकले पार्टीको राष्ट्रिय महाधिवेशन काठमाण्डौमा गर्ने निर्णय गरेको हो । माओबादी केन्द्रले राष्ट्रिय सम्मेलन पुष ११ गतेदेखि १३ गतेसम्म गर्ने निर्णय यस अघि नै गरिसकेको थियो ।
त्यसैगरी बैठकले प्रदेश पदाधिकारीहरूको सम्बन्धमा पार्टीका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा सम्बन्धित प्रदेश भित्रका केन्द्रीय कमिटी सदस्यहरुसँग परामर्श गरेर टुंगो लगाउने निर्णय गरिएको प्रवक्ता कृष्णबहादुर महराले बताए । बैठकले पाँच दलीय गठबन्धन समन्वय समितिमा पार्टीको तर्फबाट पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठलाई पठाउने निर्णय भएको पनि प्रवक्ता महराले जानकारी दिए ।
बैठकमा एमसीसीको सम्बन्धमा राष्ट्रिय सहमती कायम नभइ र संशोधन तथा परिमार्जन नभइ अगाडी नबढाउने कुरा भएको पनि उनले बताए । उनले भने, ‘एमसीसीको विषयमा बाहिर जुन कन्फ्युजन भएको छ, हाम्रो पार्टी केही कुरा राष्ट्रिय सहमती कायम नभइकन, केही संशोधन, परिमार्जन नभइकन अगाडि नबढाउने भन्ने कुरा भाछ । एमसीसीको कतिपय कुराहरु आपत्तिजनक छन् । केही कुरा परिमार्जन नभइकन र राष्ट्रिय सहमती, सबै दलको सहमत नभइकन अगाडी बढ्दैन ।’
माओबादी केन्द्र न्यायालय भित्रको विवाद न्यायालय आफैँले टुंग्याउनुपर्ने पक्षमा रहेको प्रवक्ता महराको भनाइ छ । माओवादी केन्द्रका प्रवक्ता महराले पाँच दलीय गठबन्धन समन्वय समिति सरकारलाई सहयोग गर्न र संविधानलाई ट्रयाकमा डोहोयाउनको निम्ति आवश्यक रहेको उल्लेख गरे । सो समितिले पाँच दलीय गठबन्धनलाई सुदृढ गर्ने उनको भनाइ छ ।






