कर्णाली । प्रदेश सरकारका तीन मन्त्रीको पदावधि भोलि (सोमबार) सकिँदैछ । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री अम्मरबहादुर थापा, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाही र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाको पदावधि भोलि समाप्त हुँदैछ ।
प्रदेशसभा सदस्य नरहेको व्यक्ति बढीमा ६ महिनासम्म मात्र मन्त्री हुन पाउने भएकाले उनीहरु तीनै जनाको पदावधि सकिन लागेको हो । यी तीनै जना प्रदेशसभा सदस्य होइनन् । उनीहरु तीनै जना नेकपा एकीकृत समाजवादी पार्टीका हुन् ।
मन्त्री थापा नेकपा एकीकृत समाजवादीको प्रदेश अध्यक्षको जिम्मेवारीमा पनि छन् । भोलि स्वतः पदमुक्त हुने उनीहरुको ठाउँमा कसलाई मन्त्री बनाउने भन्नेबारे औपचारिक धारणा बाहिर आइसकेको छैन । सोबारे छलफल गर्न आइतबार कर्णालीमा नेकपा एकीकृत समाजवादी पार्टीको बैठक बसेको छ ।
सम्भवतः नेकपा एकीकृत समाजवादीकै तीन प्रदेशसभा सदस्यलाई मन्त्रीको जिम्मेवारी दिइने सो पार्टीका एक नेताले रातोपाटीलाई बताए । गत वैशाख ३ मा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई ‘फ्लोर क्रस’ गरेर विश्वासको मत दिएपछि थापा, शाही र बुढालाई सरकारमा सामेल गरिएको थियो ।
उनीहरुलाई एमालेले कारवाही गरिसकेका कारण प्रदेशसभा सदस्य पद गुमाएका हुन् । एमालेले गरेको कारबाहीविरुद्ध सर्वोच्च अदालतमा उनीहरूले रिट निवेदन दिएका थिए । सर्वोच्च अदालतले उनीमाथिको कारबाहीलाई सदर गरिदिएपछि तीनै जना मन्त्रीको सांसद पद गुमेको हो ।
मुख्यमन्त्रीलाई विश्वासको मत दिने समयमा ‘फ्लोर क्रस’ गरेका अर्का नेता प्रकाश ज्वाला भने अहिले नेकपा एकीकृत समाजवादीको प्रदेश इञ्चार्ज तथा केन्द्रीय उप–महासचिवको जिम्मेवारीमा छन् ।
पार्टीको बैठकस्थलमा रहेका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीले भने, ‘हामी निश्चित समयावधिभित्रै सरकारबाट बाहिरिने छौं । अहिले छलफल भइरहेको छ ।’
उनले संविधानमै यसबारे प्रस्ट उल्लेख भएका कारण आफूहरुले राजीनामा दिनैपर्ने भन्ने नहुने बताए । उनले भने, ‘हामीले राजीनामा दिनैपर्छ भन्ने छैन, यसबारे संविधानले नै प्रस्ट भनिसकेको छ, भोलि हामी सहजताका साथ बाहिर निस्किने हो ।’






