काठमाण्डौ । सत्तारुढ गठबन्धनमा मन्त्रालयको भागबण्डा मिलेसँगै नेकपा (एकीकृत समाजवादी) ले आफ्नो तर्फबाट सरकारमा सहभागी हुनेहरुको नाम टुंगो लगाएको छ ।
शुक्रबार विहान बसेको एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकले मन्त्री हुनेको नाम र मन्त्रालयको टुंगो लगाएको एक नेताले रातोपाटीलाई बताए ।
ती नेताका अनुसार एकीकृत समाजवादीले आफूले पाएका चार मन्त्रालय क्रमशः शहरी विकासमा विरोध खतिवडा, स्वास्थ्यमा रामकुमारी झाँक्री, पर्यटनमा प्रेम आले र श्रममा किसान श्रेष्ठलाई पठाउने निर्णय गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आजै मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी छ । २९ असारमा सरकारको नेतृत्व सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले यसअघि किस्ता किस्तामा गरी पाँच मन्त्री र एक राज्यमन्त्री बनाएका थिए ।
२५ सदस्यीय मन्त्रिमण्डलमा प्रधानमन्त्री देउवाले पाँच जनाको भरमा करिब तीन महिना मुलुक हाँकेका थिए । शुक्रबार मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी भइरहेको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।






