काठमाण्डौ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले चार वटा मात्रै मन्त्रालय पाएको छ । जसपाले भौतिक पूर्वाधार तथा यातायात, वन तथा वातावरण, संघीय मामिला तथा सामान्य प्रशासन र कृषि तथा पशुपन्छी विकास मन्त्रालय पाएको हो ।
अहिले अपरान्ह बसेको जसपाको संसदीय दलको बैठकपछि नेता राजकिशोर यादवले आफ्नो पार्टीले चार वटा मात्रै मन्त्रालय पाएको जानकारी दिए । सो मन्त्रालयमा क–कसलाई पठाउने भनेर टुंगो लगाउने जिम्मेवारी पार्टीका अध्यक्ष उपेन्द्र यादलाई दिइएको छ ।
मंगलबार बसेको जसपा संसदीय दलको बैठकले यादवलाई सो जिम्मेवारी दिएको हो । बैठकमा यादवले पार्टीले चारवटा मन्त्रालय पाएको जानकारी गराएका थिए । अध्यक्ष यादवले भोलि कार्यकारिणी समितिको बैठक बोलाएका छन् । कार्यकारिणी समितिबाट पनि मन्त्रीको नाम चयन गर्ने बारेमा म्याण्डेट लिइने बताइएको छ ।
उपेन्द्र यादव सरकारमा नजाने
यसैबीच बैठक स्रोतका अनुसार वर्तमान सरकारमा यादव आफै सहभागी नहुने भएका छन् । जसपाको भागमा चार मन्त्रालय मात्र परेको हुनाले यादव सरकारमा नजाने लगभग निश्चित रहेको एक सांसदले बताए । उपप्रधानमन्त्री सहित चारवटा मन्त्रालय दिएको भए यादवको जाने सम्भावना हुनसक्थ्यो ।
तर उपप्रधानमन्त्री नपाएपछि उनी आफै सरकारमा नजाने लगभग पक्का भएको हो । पार्टीका अध्यक्ष यादव मात्र होइन, पार्टीका अरु शीर्ष नेता डा. बाबुराम भट्टराई, महेन्द्र राय यादव, अशोक राई र राजेन्द्र श्रेष्ठ पनि सरकारमा नजाने कुराकानी भएको बताइएको छ ।
उनीहरुले सरकार र संगठनमाथि निगरानी गर्ने छलफलमा उठेको ती सांसदले बताए । यद्यपी भोलि कार्यकारिणी समितिको बैठकमा पनि छलफल भएपछि यादवले अन्तिम निर्णय लिनेछन् ।






