काठमाण्डौ । युट्यूवरलाई अन्तर्वार्ता दिएर दिन बिताउने पुण्य गौतमले २ दिनमै कमाएका छन् २ लाख रुपैंया । उनले रातभरी टिकटकमा लाईभ बसेर दुईदिनमा २ लाख कमाएका हुन् । हिजो आज पुण्य गौतमलाई दिनरात टीकटकमा लाईभ बसिरहेको हेर्न पाईन्छ ।
टीकटक लाइभमा बसेकै भरमा मनग्गे आम्दानी गर्न सकिने चाल पाएपछि गौतम अरु सबै काम छाडेर टिकटकमा लागेका हु्न् । उनलाई छोटो समयमै टिकटकबाट फलिफाप पनि भएको छ । २ दिन लाइभ बस्दा करिब २ लाख रूपैयाँ आम्दानी भएको उनले बताए ।
कञ्चनपुरका अंशु बर्मा नाम गरेका युवकले १५ महिनामै टीकटकबाट करोड कमाएको समाचार सुनेर पुण्य गैतमले सोही बाट रोजेका हुन् । प्राय मिडियालाई अन्तरवार्ता दिंदै हिंड्ने पुण्यलाई अचेल अन्तरवार्ता दिने खासै फुर्सद छैन । गौतम अंशु वर्मालाई फ्लप गर्ने दाउमा टिकटकमा सक्रिय छन् ।
गौतम पहिलोपटक गत शुक्रबार बेलुकी श्रीमतीसँगै लाइभमा बसेका थिए । ९ बजेबाट लाइभ बसेका उनी बिहान साढे ५ बजेमात्र उठे । आफ्नो लाइभमा एकैपटकमा १२ हजारसम्म प्रयोगकर्ताहरू जोडिएको गौतमले बताए । ‘त्यसपछि त मलाई रस पसिहाल्यो,’ उनले भने, ‘अब समय मिलेसम्म बसिन्छ ।’
श्रीमतीको प्रेरणाले आफू टीकटक लाइभमा बस्न थालेको गौतमले बताए । उनले भने, ‘यसभित्रका प्राविधिक पक्षहरुबारे मलाई धेरै जानकारी थिएन । श्रीमतीले नै सबै सिकाएकी हुन् ।’ डलर कमाउनकै लागि निद्रा मारीमारी टीकटकमा लाइभमा बस्न थालेको भनेर उनको ट्रोल पनि भइरहेको छ ।
गौतम भने डलर कमाउने भन्दा पनि संसारभरका मानिसहरूसँग जोडिने उद्देश्य लिएको बताउँछन् । ‘यो टीकटकको दुनियाँ गजबको रहेछ,’ उनले भने, ‘यसमा अल ओभर द वर्ल्ड जोसँग पनि जोडिन सकिन्छ । यही कुराले मलाई लोभ्याएको हो ।’






