काठमाडौ । नेकपा एकीकृत समाजवादी (एस) पार्टीले सरकारमा सहभागी हुने औपचारीक निर्णय गरेको लामो समय वितिसक्दा पनि नाम दिन सकेका थिएनन् । सोमवार भने माधव नेपालले मन्त्री बन्ने नेताको नाम टुंगो लगाएर देउवालाई दिएका छन् ।
समाजवादी पार्टी नेता विरोध खतिवडाको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ । नेपालले देउवालाई ५ जनाको नाम दिएका छन् । एसका अध्यक्ष माधवकुमार नेपालले मन्त्रीको नाम टुंगो लगाएर प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइसकेको एकीकृत समाजवादीका एक नेताले जानकारी दिए ।
पार्टीबाट शेरबहादुर देउवा नेतृत्वको सरकारमा सांसद विरोध खतिवडाको नेतृत्वमा मेटमणि चौधरी, रामकुमारी झाक्री, प्रेम आले र जीवनराम श्रेष्ठलाई मन्त्री बनाउन लागिएको एक नेताले बताए । एकीकृत समाजवादीको ६ मन्त्रालय पाउने टुंगो लागेको छ तर अहिले ५ जनाको मात्रै नाम पठाइएको ती नेताले बताए ।
माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीको कुन कुन मन्त्रालय पाउने भन्ने अहिलेसम्म टुंगो लागिसकेको छैन । एकीकृत समाजवादीले टुंगो लगाएका नाममध्ये प्रेम आले र जीवनराम श्रेष्ठबाहेक पहिलो पटक मन्त्री हुन लागेका नेताहरू हुन् । बाँकी रहेको १ मन्त्रालयमा किसान श्रेष्ठ र भवानी खापुङमध्ये १ जनालाई मन्त्री बनाउने भनिए पनि टुंगो लागि नसकेको ती नेताले बताए ।






