काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश (दोस्रो संसोधन) २०७८ खारेज गरेकी छन् । सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले सोमबार साझ उक्त अध्यादेश खारेज गरेकी हुन् ।
संविधानको धारा ११४ को उपधारा ९२० को खण्ड ‘ख’ बमोजिम अध्यादेश खारेज भएको राष्ट्रपति कार्यालयले जनाएको छ । सोमबार बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश खारेज गर्न राष्ट्रपति भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
दल विभाजनका लागि २० प्रतिशत सांसद वा केन्द्रीय सदस्य भए पुग्ने व्यवस्थासहित आफैंले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिने अवस्थामा सरकार पुगेको छ ।

सरकारले गत भदौ १ गते २० प्रतिशत सांसद वा दलको केन्द्रीय सदस्यहरुले चाहेमा दल विभाजन गर्न सक्ने गरी अध्यादेश ल्याएको थियो । अध्यादेश ल्याएलगत्तै माधवकुमार नेपालले नेकपा एमाले विभाजन गरी नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुरले जनता समाजवादी पार्टी विभाजन गरेर लोकतान्त्रिक समाजवादी पार्टी दर्ता गरेका थिए ।
सत्ता गठबन्धनको एक दल जसपाले अध्यादेश फिर्ता नलिएसम्म सरकारमा सहभागी नहुने जनाउदै आएको छ । यादवलाई अध्यादेश खारेज नभए आफ्नो दल विभाजन हुने चिन्ता थियो ।






