काठमाण्डौ । नेकपा एमालेका नेता विष्णु पौडेलले एमालेबाट अलग्गिएका माधव नेपाललाई काँग्रेसको पछि लागेर वामपन्थी भन्न नसुहाउने बताएका छन् ।
बुधबार नेकपा एमाले रुपन्देहीले बुटवलमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पौडेलले माधव नेपालले काँग्रेस र दक्षिणपन्थीको पछि लागेर आफूलाई वामपन्थी भनेर हास्यास्पद परिभाषा दिने गरेको बताए ।
‘काँग्रेसको पछि लागेर आफूलाई वामपन्थी भनेर हास्यास्पद परिभाषा गर्ने कोसिस भएको छ । दक्षिणपन्थीको पछि लागेर वामपन्थी भन्नु यो भन्दा हास्यास्पद कुरा के हुन्छ ?’, एमाले उपमहासचिव समेत रहेका पौडेलले प्रश्न गरे ।
उनले नेकपा एमाले विभाजित गर्ने कोसिस भइरहेको भन्दै त्यस्ता हर्कत सफल हुन नदिने दाबी समेत गरे । पौडेलले माधव नेपालको पार्टी नभएर एउटा झुण्डमात्र भएको भन्दै अबको निर्वाचनमार्फत एमालेले सरकारको नेतृत्व गर्ने दाबी गरे ।






