खोटाङ । विश्वभरी फैलिएको कोभिड महामारीका कारण विद्यालयहरु संचालनमा आएका छैनन् । विद्यालय सञ्चालनमा नआएपनि विद्यालयले भने विद्यर्थीहरुको भविष्यलाई ध्यानमा राखेर अनलाइन कक्षा सञ्चालन गर्दै आईरहेका छन् । यसरी अनलाईन कक्षा सञ्चालन गर्दा सुगम स्थानमा बस्ने विद्यार्थीका लागि यो सहजै पहुँचमा पुग्यो तर ग्रामिण क्षेत्रमा बस्ने विद्यार्थीकालाई भने अनलाईन कक्षामा सहभागीता जनाउन निकै गा ह्रो भएको छ ।
यसका बाबजुद पनि दुर्गम जिल्लामा बसोबास गर्ने विद्यार्थीहरुले जसोतसो अनलाई कक्षामा सहभागीता जनाएका छन् । त्यसरी सहभागीता जनाउने मध्येका एक हुन्, धनकुमार मगर । धनकुमारले अनलाईन कक्षा पढ्नकोलागी गरेको मेहनतले सबैको ध्यान तानेको छ । उनी खोटाङका विद्यार्थी हुन् । उनले अनलाईन कक्षामा सहभागीता जनाउनकोलागी रुखको टुप्पामा टाँड (डेरा) बनाएर अनलाइन कक्षा पढ्दै आईरहेका थिए । धनकुमार हलेसी तुवाचुङ नगरपालिका(१) अर्खौलेस्थित सरस्वती माविमा कक्षा १० मा अध्ययनरत छन् ।
धनकुमारको पढाईप्रतिको मोह र लगनशिलताप्रति खोटाङको हलेसी तुवाचुङ नगरपालिकाकी उपमेयर विमला राईको ध्यान तानिएको छ । उपमेयर राईले धनकुमारलाई पढ्नकोलागी अझैं सजिलो होस् र थप उर्जा मिलोस् भनेर मोबाइल चार्ज गर्न एक थान व्याकअप, एउटा झोला, एउटा डिक्सनेरी, पाँचवटा कपी र एउटा डायरी प्रदान गरेकी छन् । रुखमा डेरा बनाएर पढ्न अग्रसरता देखाएका छात्र मगरको प्रोत्साहनका लागि उपमेयर राई हलेसी तुवाचुङ नगरपालिका ६ मंगलटारका वडाध्यक्ष रमेश राउतसहित अर्खौले पुगेकी थिईन् ।
महामारीका कारण भौतिक उपस्थितिमा पठनपाठन गर्ने अवस्था नभएपछि नगरपालिकाको निर्देशन अनुसार विद्यालयले अनलाइन कक्षा सञ्चालन गर्दा छात्र मगर अर्खौलेको नवलपुर सिम्लेस्थित घरनजिकै रुखमा डेरा बनाएर भर्चुअल कक्षामा सामेल भएका थिए । छात्र मगरले घर वरपर मोबाइल डाटा कनेक्ट हुने ठाउँ खोजेर रुखमा डेरा बनाएर अनलाइन कक्षामा सहभागी भएको बताए ।






