काठमाण्डौ । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले राजीनामाको घोषणा गरेका छन् । केपी ओलीलाई आफूले नेता मान्न नसक्ने भन्दै गौतमले पार्टी केन्द्रीय कमिटी र उपाध्यक्ष पदबाट राजीनामा दिने घोषणा गरेका हुन् । नेता गौतमले केपी ओली र आफ्नो विचारमा कुनैपनि पक्षबाट मेल नखाएको हुनाले राजीनामा दिने निर्णय गरेका हुन् ।
‘नेकपा एमालेबाट राजीनामा दिने त पक्का नै हो । तर माधव नेपालको पार्टीमा प्रवेश गर्ने विषयमा भने धेरै छलफल गर्न आवश्यक भएको हुनाले मैले हतार गरेको छैन ।’ हिमालाय न्यूज हबसंग कुराकानी गर्दै नेता गौतमले भने,‘एमालेबाट राजीनामा दिएर अलग भएपछि मात्रै माधव नेपालको पार्टीमा प्रवेश गर्ने भन्ने त हो । तर सैद्धान्तिक पक्षमा, राजनैतिक पक्षमा, विचार धारामा छलफल गर्ने र हाम्रा भनाईहरुलाई सम्मानका साथ माधव नेपाल र उहाँका टिमले स्वीकार गर्नु भयो भने मात्रै उहाँको पार्टीमा प्रवेश गरिने सम्भावना रहन्छ ।’
उपाध्यक्ष गौतमको भनाई अनुसार माधव नेपालको पार्टीमा जानु पुर्व एकता अभियानमा लागेका कार्यकर्ताहरुको विषयमा पनि आफुले सोंच विचार गरेर मात्रै अघि बढ्ने उनले बताए । नेता गौतमले भने,‘उहाँहरुले मलाई बामदेवको पछाडि कोही छैन । जतापनि लुरुक्क परेर आउँछ भन ठान्नु हुन्छ । तर त्यसो हैन । माधव जीले पनि मलाई तपाईँ आउनु भयो भने उर्जा आउँछ भन्नुु हुन्छ । तर उहाँले भन्नु भयो भन्दैमा म त्यसरी जाँदैन ।’ नेता गौतमले भने ।
यसअघिको स्थायी कमिटी बैठकमै अध्यक्ष केपी ओलीलाई उपाध्यक्ष गौतमले आफु ओलीसंग बस्न नसक्ने बताई सकेका थिए । ओलीलाई भनेको कुरा नेता गौतमले यसरी सुनाए,‘म तपाईंसँग अब रहन्नँ, कुनैपनि बैठकमा बस्ने पनि छैन र तपाईंलाई नेता मान्न पनि सक्दिनँ, तपाईले मलाई लखेट्नुभयो भनिसकेको छु ।’, उनले अगाडी भने, ‘उपयुक्त समयमा राजीनामा पठाइदिन्छु, सायद त्यो छिट्टै नै हुनेछ ।’






