काठमाण्डौ । विशेष राजनीतिक परिस्थितिमा नेता रामकुमारी झाँक्रीको प्रस्तुति विशेष नै हुने गर्छ। कुनै न कुनै फरक काम गरेर उनले चर्चा कमाउने गरेकी छन् ।
यसै क्रममा बुधबार एमाले विभाजन गरी बनाइएको नेकपा एमाले (समाजवादी) दल दर्ता गर्न निर्वाचन आयोगमा जाँदा पनि नेता झाँक्रीको एउटा तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
निर्वाचन आयोगको परिसरमा खिचिएको त्यो तस्बिरमा नेता झाँक्रीले आफ्ना वरिष्ठ नेता माधव नेपालको हात समातेर तानिरहेको देखिन्छ। जसलाई कतिपय लेखक, पत्रकार, सम्पादकले समेत पहिलो पुस्तामा युवा पुस्ताको हस्तक्षेपका रूपमा अर्थ्याएका छन् । र, नेता झाँक्रीको भूमिका र साहसको प्रशंसा गरेका छन् ।
यो तस्बिर सामाजिक सञ्जालमा सेयर गर्दै लेखक सरिता तिवारीले लेखेकी छन्, ‘यो तस्बिरलाई पछिल्लो पुस्ताको शानदार हस्तक्षेप मान्छु म चैं । कतिपय कुरामा रामकुमारीजीको आलोचक हुँ, तर पुस्तान्तरको हस्तक्षेपको सन्दर्भमा कुनै माईका लाल (आमाको सुपुत्र) सँग नभएको हिम्मत यिनले देखाइरहेकी छिन् । त्यस अर्थमा यिनको प्रशंसा गर्छु ।’
उनले अगाडि लेखेकी छन्, ‘पछिल्लो पुस्ताले समय छँदै यसरी केपी ओलीसहित पाका नेताको कठालो समात्ने काम गरेको भए आजको दिनको तस्बिर फरक हुन्थ्यो ।’ यो समाचार नेपाल खबरबाट






