काठमाडौ । जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजित भएको छ । महन्थ ठाकुरको अध्यक्षतामा जसपा नेपाल (लोकतान्त्रिक) पार्टी निर्वचन आयोगमा दर्ता भएको छ । महन्थ ठाकुर पक्षले बुधबार निर्वाचन आयोगमा जसपा नेपाल (लोकतान्त्रिक) दल दर्ता गराएका हुन् । जसको वरिष्ठ नेतामा राजेन्द्र महतो रहेका छन् ।
सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याए लगत्तै ठाकुर पक्षले नयाँ दल दर्ता गरेको हो । ठाकुरको पार्टील चुनाव चिन्ह साइकल रोजेको जनाइएको छ ।
नव गठित पार्टीमा २४ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति र १४ जना संघीय सांसद रहेको नेता लक्षमणलाल कर्णले जानकारी दिए । ‘अध्यक्षमा महन्थ ठाकुर हुनुहुन्छ अन्य पदाधिकारी तोकिएको छैन,’ उनले भने ।
आज निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएको महन्थ ठाकुर नेतृत्वको जसपा (लोकतान्त्रिक) को कार्यकारिणी समिति सदस्य २४ सदस्यीय रहेको छ । सो पार्टीको कार्यकारिणी समितिमा ठाकुर र महतोसहित शरतसिंह भण्डारी, अनिलकुमार झा, सर्वेन्द्रनाथ शुक्ल, वृषेशचन्द्र लाल, जितेन्द्र सोनार, उमाकान्त झा, चन्दा चौधरी, लक्ष्मणलाल कर्णलगायत रहेका छन् ।






