काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा अब माधव नेपालका लागि ठाउँ नभएको बताएका छन् । शनिबार नेकपा एमालेको काठमाडौं जिल्ला कमिटीको बैठकमा वामपन्थीको सरकार ढाल्ने र दक्षिणपन्थीको सरकारलाई विश्वासको मत दिएको भन्दै उनले माधव नेपालका लागि पार्टीमा ठाउँ नभएको बताए ।
ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई आन्दोलन विरोधी र देशद्रोही भन्दै उनलाई कुनै ठाउँ नरहेको उद्घोष गरेका छन्। ‘माधव नेपाल जस्ता आन्दोलन विरोधी देशद्रोहीलाई कुनै ठाउँ छैन,’ एमालेको काठमाडौं जिल्ला कमिटीको बैठकलाई शनिबार सम्बोधन गर्दै ओलीले भने, ‘वामपन्थी सरकार ढाल्ने, आफ्नो अध्यक्षले माग्दा पनि विश्वासको मत नदिने, दक्षिणपन्थी सरकारलाई मेरो विश्वास छ भनेर ह्वीप क्रस गर्ने ।’
ओलीले जनताको सरकार ढलेर दक्षिणपन्थीको पार्टी बनेको भन्दै प्रतियिक्रयावादीहरुसँग लागेर माधव नेपालले एमालेको सरकार ढालेको आरोप लगाए। ओलीले भने, ‘लगभग दुई तिहाइको स्थितिलाई बहुमतमा पुर्याए । प्रतिक्रियावादीहरूसँग मिलेर एमाले सरकार ढाले । एमाले सरकार ढालेर दक्षिणपन्थी सरकार बनाएर संविधानको रक्षा गर्यौं भनेका छन् ।’
उनले बाटो बिराएका अरु भने पार्टीमा फर्किन सक्ने बताए । ‘आउनुस् यो पार्टी हामी सबै जनाको हो । जो अउँदैन, आउँदैन । समय कुर्दैन’ ओलीले भने । अध्यक्ष ओलीले आगामी चुनावमा पार्टीले बहुमत ल्याउने दावी गरे ।






