काठमाडौ । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीको आममाफी दिने भनाइलाई व्यंग्य गरेका छन् । ओलीको आममाफी दिने कुरालाई उनले व्यंग्य गरेका हुन् । उनले ओलीलाई ‘महामहिम श्री ५ महाराजाधिराजको अभिव्यक्ति’ भनेका छन् ।
शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा आयोजित कार्यक्रममा बोल्दै नेपालले यस्तो अभिब्यक्ति दिएका हुन् । नेता नेपालले भनेका छन्,‘कति हामी गदगद भयौं । महाराजधिराजबाट उवाच । हामी गदगद भयौं९वाह, वाह । महाराजधिराज कति खुसी भए छन्, हामीलाई आम माफी दिँदै छन् । नाँच्नुपर्ने भयो । यही हो प्रगति ? यहीलाई कम्युनिष्ट प्रवृत्ति भनिन्छ ?’ झण्डै दुई तिहाइको प्रधानमन्त्री ८३ जनामा खुम्चिँदा पनि नसुध्रिएको उनको भनाइ थियो ।
प्रतिनिधि सभामा विश्वासको मत लिँदा ओलीको पक्षमा ८३ मत मात्रै परेका थिए । नेपालले त्यसैलाई संकेत गर्दै भने, “स्पष्टीकरण सोध्नु गल्ती भयो, मैले त्यो हतार गरेँ, मैले फिर्ता लिएको छु भन्दिएको भए के हुन्थ्यो ? मर्यादा कम हुन्थ्यो ?उस्तै छन् । जति गर्दा पनि सुध्रिएनन् ।” प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रधामन्त्रीमा विश्वासको मत दिएर नेकपा एमालेका २२ जना सांसदले न्यायोचित काम गरेको नेपालले बताए ।
‘जसले संसद् जोगाए, जसले संविधान जोगाए । उनीहरूलाई सलाम छ,’ उनले भने, ‘न्यायपालिकाको गरिमाको रक्षा गरेका छौं । यो बडो जायज काम गरेका छौं । न्यायोचित काम गरेका छौ । मसँगै जोडिएका मेरा पार्टीका सांसदहरूलाई विशेष अभिवादन गर्न चाहन्छु, म सलाम गर्न चाहन्छु ।’ भिडियो नेपाल प्रेसवाट लिएका हौं ।






