काठमाण्डौ । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्वल थापाको स्वास्थ्य अवस्था सुधार हुनुको साटो झनै जटिल बन्दै गई रहेको उनको परिवार, साथी र शुभेच्छुकहरूले जनाएका छन् । परिवार, साथी र शुभेच्छुकहरूको तर्फबाट आइतबार जारी विज्ञप्तिमा उपचार भैरहेको भए तापनि अवस्था जटिल हुँदै गएको उल्लेख गरिएको छ ।
‘अहिले अस्पतालमा ईसीएमओ प्रविधिबाट विशेषज्ञहरुबाट, अस्पताल भन्दा बाहिरका विशेषज्ञहरूको राय सल्लाहलाई समेत मध्यनजर गर्दै, उहाँको उपचार भैरहेको भए तापनि उज्वलको अवस्था जटिल हुँदै गएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘उहाँको उपचारको क्रममा उपलब्ध सबै विधिहरूको प्रयोग गरेको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी गराउनु भएको छ ।’
कोरोना भाइरसबाट संक्रमित भई करिब दुई हप्तादेखि ह्याम्स, ग्रान्डी अस्पताल लगायतका अस्पतालमा उपचार गराएका उनको विगत तीन दिनदेखि भने नेपाल मेडिसिटी अस्पतालमा उपचार भैरहेको छ । उनको स्वास्थ्य लाभको कामना सबैले गरि रहेका छन् । थापाको स्वास्थ्य उपचारकोलागी आर्थिक सहयोग गर्छु भनेका दुर्गा प्रसाईँको सहयोगलाई परिवारले अस्वीकार गरिदिएको छ ।






