काठमाण्डौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अक्सिजन लिएर आउने बिरामीको मात्र उपचार गर्ने अस्पताललाई कारवाही गर्ने भएको छ । मन्त्रालयले सूचना जारी गर्दै अक्सिजन जस्तो अत्यावश्यक विषय बिरामी वा आफन्तलाई नै लिएर आउनू भन्नै नहुनेमा कहीँकतै यस्तो गर्ने गरिएको भए नगर्न÷नगराउन अनुरोध गरेको छ ।
मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले केही अस्पतालले बिरामीलाई अक्सिजन लिएर आउने भए मात्रै उपचार गर्ने गरी कबुलियतनामा गर्ने गरेको पाइएकाले कारवाही गरिने जानकारी दिए । मन्त्रालयले प्राप्त बिरामीको तथ्याङ्कका आधारमा अस्पतालमा अक्सिजन आवश्यकतानुसार उपलब्ध गराएको जनाइएको छ ।
अस्पतालमा पुगेका अक्सिजन सिलिण्डर अस्पतालको अक्सिजन आपूर्ति प्रणालीमा स्वतः जाने भएकाले सम्बन्धित व्यक्तिलाई उपलब्ध गराउन मन्त्रालयले आग्रह गरेको छ । यस्तै बर्दिया जिल्ला अस्पतालमा अक्सिजन जडानका लागि सङ्घीय सरकारले विनियोजन गरेको रकमबाट तत्काल लागि उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री विमला विकले रु डेढ करोड विनियोजन गरेका छन् ।
उपलब्ध रकम अस्पतालको मागअनुसार नै भएको जिल्ला अस्पताल बर्दिया गुलरिया अध्यक्ष अङ्गद श्रेष्ठले बताए । उनले मन्त्रालयबाट प्राप्त रकमको सही तवरले उपयोग गरिने बताए । बर्दियामा स्वास्थ्यकर्मीको जनशक्ति कमी भएको हुँदा थप पहल गरिइरहेको राज्यमन्त्री विकले जानकारी दिए । दोस्रो लहरको कोरोना महामारीमा सङ्घीय सरकारले देशभरिका १२ अस्पताललाई रु १६ करोड ८० लाख विनियोजन गरेको छ ।
ती अस्पतालमध्ये बर्दिया अस्पताललाई अक्सिजन प्लान्ट र पाइप लाइन विस्तारका लागि डेढ करोड विनियोजन गरिएको हो । यस्तै पछिल्लो दिनमा कोरोना संक्रमण दर उच्च भएसँगै जिल्लामा अक्सिजन ग्यासकोे समस्या नहोस् भन्ने उद्देश्यले काठमाडौँमा बसोबास गर्दै आउनुभएका ॐ रिजाल र मीना थापाले चन्दा अभियान चलाएका छन् ।
जिल्लामा उपलब्ध सिलिन्डरले अक्सिजनको आवश्यकता पूरा गर्न नसक्ने अवस्था ख्याल गरेर चलाइएको अभियानबाट सात लाख ५३ हजार ६१७ संकलन भएको छ । उठेको पैसाले अक्सिजन ग्यास, कन्सन्ट्रेटर, मेशिनलगायत स्वास्थ्य सामग्री व्यवस्थापन गर्न उद्योगी व्यवसायी, कर्मचारी, विभिन्न क्षेत्रमा काम गर्ने व्यक्ति, राजनिीतक दल, नागरिक समाज, प्रशासन निकायलगायतलाई अनुरोध गरिएको अभियानकर्मी रिजालले बताए ।
उनले एउटा मेशिन खरिद गरिसकिएको र अरु खोजीमा रहेको पनि बताए । यसअघि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले १५ थान खाली सिलिन्डर उपलब्ध गराएका थिए । यस्तै नेपाल पत्रकार महासंघले पनि अक्सिजन अभाव हुन नदिनका लागि कम्तीमा एक सय अभियान चलाएको छ । संक्रमणको दोस्रो लहर शुरु भएयता हालसम्म दैलेखमा २० जनाको मृत्यु भइसकेको छ ।






