काठमाडौ । देशभर कोरोना संक्रमित संख्या ३ लाख १२ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमित संख्या ३ लाख १२ हजार ६ सय ९९ पुगेको हो । सक्रिय संक्रमित संख्या ३० हजार २ सय ९ रहेको छ । केही दिनयता संक्रमणदर बढ्दो क्रममै छ । कुल संक्रमितमध्ये २ लाख ७९ हजार २ सय ७९ जना संक्रमणमुक्त भएका छन् ।
हालसम्म कोरोना संक्रमणबाट ३ हजार २ सय ११ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै १७ संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कुल संक्रमितमध्ये १.०२६ प्रतिशतको मृत्यु भएको छ । हालसम्म २४ लाख ४५ हजार ९ सय ६८ जनाको पीसीआर परीक्षण गरिएको छ । हाल, देशभर ५४ जना क्वारेन्टाइनमा छन् ।
गत २४ घण्टामा ४ हजार ८ सय ९७ संक्रमित थपिएका छन् । जसअन्तर्गत प्रदेश १ को इलाममा ३, उदयपुरमा २, खोटाङमा २, ओखलढुंगामा १, झापामा ४०, ताप्लेजुङमा १३, धनकुटामा १, मोरङमा १ सय २८, सुनसरीमा ४९ जनामा कोरोना देखिएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।
योपनि
कोरोनाले मृत्यु हुनेमा निरोगी युवा पनि
काठमाण्डौ । नेपालमा बितेको वर्ष कोरोना भाइरस संक्रमणले वृद्ध र दीर्घरोगीलाई बढी सकस पारेको थियो । बढी मृत्यु पनि यही समूहका मानिसको भएको थियो । तर अहिलेको लहरमा भने निरोगी युवालाई समेत धेरै असर पारेको छ । युवाको समेत मृत्युदर बढिरहेको उपचारमा संलग्न चिकित्सकले औंल्याएका छन् ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा केही दिनयता मृत्यु भएका दुई युवा ३३ र ३८ वर्षका छन् । त्यस्तै ४९ वर्षका एक व्यक्तिको पनि मृत्यु भयो । उनीहरू तीनै जना निमोनिया भइसकेपछि मात्र अस्पताल पुगेका थिए । उनीहरूको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
उनीहरूमा कुनै पनि दीर्घकालीन रोग नभएको उपचारमा संलग्न डा. अनुप बास्तोलाले बताए । ह्याम्स अस्पतालमा केही दिनयता मृत्यु भएका दुईजनामध्ये एक कुनै रोग नभएका युवा छन् । उनीहरूको कोरोना निमोनियाले मृत्यु भएको अस्पतालका कोभिड उपचार चिकित्सक डा. राजु पंगेनीले नागरिकलाई जानकारी दिए ।
अहिले वार्डमा सिकिस्त भएर भर्ना भएका मध्ये ३५ देखि ५० वर्षभित्रका धेरै रहेको डा. पंगेनीले बताए । त्रिवि शिक्षण अस्पतालका कोभिड उपचार चिकित्सक डा. सविन थपलियाका अनुसार भर्ना भएका १ सय ३० जना कोरोना संक्रमित बिरामीमध्ये ९० प्रतिशतको अवस्था गम्भीर छ । तीमध्ये पनि धेरै आइसियु चाहिने अवस्थामा छन्। सिकिस्त भएर उपचारमा पुग्नेमा निमोनिया भइसकेका युवा पनि छन् ।
यो वर्षको भाइरसको स्वरुप कडा भएकाले निरोगी युवालाई समेत सिकिस्त बनाएको डा. बास्तोला बताउँछन्। कोरोनालाई सामान्य रुघाखोकीका रुपमा हेरेर चरम बेवास्ता गर्नाले पनि युवाहरू सिकिस्त बनेको उनको तर्क छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।






